जिल्लाको छबिस पाथिभेरा–६ च्याकोटमा रहेको नेपाल टेलिकमको टावरमा लामो समयदेखि आएको समस्या समाधान भएको छ । नेपाल टेलिकम बझाङले उक्त टावरमा सोलार प्रणाली जडान गरी सेवा सुधार गरेको छ ।
पहिल्यै टावर स्थापनाका लागि क्षेत्रीय विद्युतीय प्रणालीको भरोसा गरिएको भए पनि विद्युत आपूर्ति अस्थिर भएका कारण टावर निरन्तर सञ्चालनमा समस्या आउँदै आएको थियो । यसले गर्दा स्थानीय बासिन्दाले सञ्चार सेवाबाट वञ्चित हुनुपरेको थियो ।
नेपाल टेलिकमले यसअघि लघु विद्युत् आपूर्तिको भरमा रहेको टावरमा सोलार जडान नगर्दा समस्या थप जटिल बनेको थियो । तर, हालै नेपाल एंगलद्वारा प्रकाशित समाचारको प्रभावपछि नेपाल टेलिकम बझाङले तत्काल सोलार प्रणाली जडान गरेको हो ।
टावरमा सोलार जडान भएसँगै अब नियमित सञ्चार सेवा उपलब्ध हुने विश्वास गरिएको छ । स्थानीय नागरिकले पनि टेलिकमले समस्याको तत्काल समाधान गरेकोमा सन्तोष व्यक्त गरेका छन् । अब यस टावरको उचित संरक्षण र व्यवस्थापन भएमा सेवा दीर्घकालीन रूपमा नियमित रहन सक्ने नेपाल टेलिकम बझाङ प्रमुख बम बहादुर सिंहले बताएका छन् ।