केदारस्युँ गाउँपालिकाले एकल महिलाहरूको जीविकोपार्जनलाई सहज बनाउन र आत्मनिर्भर बनाउन ‘उपाध्यक्ष कोसेली कार्यक्रम’ अन्तर्गत सामूहिक आलु खेती कार्यक्रम शुरू गरेको छ ।
मंगलबार गाउँपालिका अध्यक्ष गणेश बोहरा र उपाध्यक्ष मनिसा धामी सहितको टोली भामचौर–काँडाचौर पुगेको थियो । कार्यक्रममा एकल महिला समूहलाई लक्षित गर्दै २५ क्विन्टल आलुको बीउ वितरण गरिएको छ ।
समूहगत खेती र आत्मनिर्भरता
धौलपुर एकल महिला समूह भामचौर–काँडाचौरले अर्गानिक खेती गर्दै आत्मनिर्भर बन्ने लक्ष्य राखेको छ । समूहकी अध्यक्ष रुबसी बोहराले भनिन्, “हामीलाई गाउँपालिकाले २५ क्विन्टल आलुको बीउ सहयोग गरेको छ । यसले हाम्रो जीवनयापनमा सहजता ल्याउनेछ । मेहनत गरेर उत्पादन वृद्धि गर्दै आत्मनिर्भर बन्नेछौं ।”
गाउँपालिका अध्यक्ष गणेश बोहराले पहिलोपटक यस क्षेत्रमा आलु खेतीको अभ्यास गर्न लागिएको बताउँदै, “यसबाट उत्पादन कति हुन्छ र जीविकोपार्जनमा कति प्रभाव पार्छ भनेर मूल्यांकन गरिनेछ । गाउँपालिकाले आवश्यक सहयोग गर्नेछ, तर मिहिनेत एकल महिलाहरूले गर्नुपर्ने छ ।”
३५ रोपनी जग्गामा खेती
उपाध्यक्ष मनिसा धामीले कृषि पेशाबाट आत्मनिर्भर बन्न सकिने बताउँदै भनिन्, “जग्गा भाडामा लिएर भए पनि खेती गर्नुपर्छ। यो हाम्रो नयाँ अभ्यास हो । सफल हुन्छ या हुँदैन, अहिले नै भन्न सकिन्न, तर यदि मिहिनेत गरियो भने राम्रो उत्पादन लिन सकिन्छ ।”
हाल भामचौर र काँडाचौर क्षेत्रमा ३५ रोपनी जग्गामा आलु खेती गरिने योजना रहेको छ । उत्पादन बढेपछि बजारीकरणमा समेत गाउँपालिकाले सहयोग गर्ने बताइएको छ । साथै, आगामी दिनमा पालिका भित्रका अन्य एकल महिला समूहलाई पनि यस्तै कार्यक्रममार्फत कृषि क्षेत्रमा जोड्ने योजना रहेको छ ।