शारीरिक रूपमा अशक्त ‘हरु दमाईको’ परिवारलाई नेविसंघ नेता भण्डारीको सहयोग
भन्छन् : सामाजिक उत्तरदायित्व पूरा गर्नु विद्यार्थी नेताहरूको कर्तव्य हो
केदारस्युँ गाउँपालिका-१, देउराका शारीरिक रूपमा अशक्त हरु दमाईको परिवारलाई नेपाल विद्यार्थी संघ केदारस्युँका सभापति रोशन भण्डारीले आवश्यक सामग्री सहयोग गरेका छन् । उनले खाद्यान्न, तरकारी, सोडासाबुन, बाल्टी, जग लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।
हरु दमाईको परिवारका सबै सदस्यहरू शारीरिक रूपमा अशक्त छन् । परिवारमा दुई छोरा रहेका छन्, तर उनीहरू आफैं हिँडडुल गर्न र श्रम गर्न असमर्थ छन् । यसले गर्दा परिवारलाई दैनिक जीवनयापनमा ठूलो कठिनाइ भइरहेको छ ।
भण्डारीले भने, “यो परिवारलाई पहिलेदेखि नै सहयोग गर्दै आएको छु । हिजो सार्वजनिक भएको भिडियो हेरेपछि मन थाम्न सकिनँ । मैले गरेको सहयोगले सधैंका लागि समस्या समाधान नहुन सक्छ, तर केही मात्रामा राहत होस् भन्ने सोचले आवश्यक सामग्री सहयोग गरेको छु ।” साथै, उनले आगामी दिनमा पनि परिवारलाई आवश्यक परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
हाल हरु दमाईको परिवारलाई विभिन्न ठाउँबाट राहत स्वरूप आर्थिक सहयोग आइरहेको छ ।
रोशन भण्डारी नेपाल विद्यार्थी संघ केदारस्युँका सभापति हुन् । साथै आसन्न स्ववियु निर्वाचनमा बझाङदिप क्याम्पस झोताबाट उम्मेदवार समेत हुन् । उनका अनुसार सामाजिक उत्तरदायित्व पूरा गर्नु विद्यार्थी नेताहरूको कर्तव्य हो, र उनले यो अभियान निरन्तर जारी राख्ने बताए ।