आसन्न चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बझाङदिप क्याम्पस झोताका लागि नेविसंघका तर्फबाट विद्यार्थी नेता रोशन भण्डारीले सभापति पदमा उम्मेदवारी दिएका छन् । भण्डारीले आफ्नो उम्मेदवारीसँगै शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको हकहित संरक्षण, भौतिक पूर्वाधार विकास र रोजगारमूलक कार्यक्रमलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।
उनले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्न योग्य प्राध्यापकको व्यवस्था, पुस्तकालय तथा प्रयोगशालाको विस्तार र डिजिटल शिक्षाको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, विद्यार्थीको हकहित संरक्षण गर्दै छात्रवृत्ति वितरणलाई पारदर्शी बनाउने, पढ्दै कमाउँदै कार्यक्रम गर्ने, आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई विशेष सहायता उपलब्ध गराउने र शुल्क वृद्धिमा अनावश्यक भार नपरोस् भन्नेमा ध्यान दिने बताएका छन् ।
भण्डारीले भौतिक पूर्वाधार विकास अन्तर्गत क्याम्पसमा स्वच्छ खानेपानी, उचित शौचालय सुविधा, अतिरिक्त कक्षा कोठा, तथा अध्ययनमैत्री वातावरण निर्माण गर्ने योजना अघि सारेका छन् । साथै, स्नातक तहका विद्यार्थीलाई रोजगारी र सीपमूलक तालिम प्रदान गर्दै इन्टर्नशिप तथा रोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गरेर उनीहरूको भविष्य सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक विकासका लागि आफू सधैं अग्रसर रहने बताउँदै भण्डारीले आगामी निर्वाचनमा आफ्नो उम्मेदवारीलाई समर्थन गर्न सबैलाई आग्रह गरेका छन् ।
विद्यार्थी नेता रोशन भण्डारी : शिक्षा र विद्यार्थी हकहितका लागि प्रतिबद्ध
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बझाङदिप क्याम्पस झोताका लागि सभापति पदमा उम्मेदवारी दिएका रोशन भण्डारी केदारस्युँ गाउँपालिकाका नेपाल विद्यार्थी संघ (नेविसंघ) सभापति हुन् । उनी विद्यार्थी हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका एक सक्रिय युवा नेता हुन् ।
भण्डारी शैक्षिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् । उनले विशेष गरी विद्यार्थी अधिकार, छात्रवृत्ति, गुणस्तरीय शिक्षा र क्याम्पस सुधारका मुद्दामा सक्रिय भूमिका खेल्दै आएका छन् । सबै विद्यार्थीलाई समान अवसर दिलाउने, समस्या परेका विद्यार्थीलाई सहयोग गर्ने, तथा शिक्षालाई प्रविधिमैत्री र व्यावहारिक बनाउने उनको प्रमुख उद्देश्य रहेको छ ।
स्ववियु निर्वाचनमा उम्मेदवारी दिँदै भण्डारीले आफू शिक्षाको गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, तथा रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्न दृढ रहेको बताएका छन् । विद्यार्थीहरूको हकहितको रक्षाका लागि सधैं संघर्षरत रहँदै आएका उनले क्याम्पस सुधारका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिज्ञा गरेका छन् ।