चितवनमा सुदूरपश्चिम खप्तड सेवा समाजको होली भव्य रूपमा सम्पन्न

चितवन – सुदूरपश्चिम खप्तड सेवा समाज, चितवनद्वारा आयोजित होली कार्यक्रम उत्साहजनक उपस्थिति सहित भव्य रूपमा सम्पन्न भएको छ । चितवनमा रहेका सुदूरपश्चिमेली समुदायबीच एकता, भाइचाराको सम्बन्ध मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा स्थानीय तथा विभिन्न क्षेत्रमा संलग्न समुदायका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रह्यो ।

सुदूरपश्चिम प्रदेशमा मूल घर भई चितवनमा विभिन्न पेशा, व्यवसाय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा संलग्न रहेका सुदूरपश्चिमेलीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘सुदूरपश्चिम खप्तड सेवा समाज चितवन’ गठन गरिएको छ। संस्थाले यहाँका चाडपर्व, देउडा संस्कृतिलगायत मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ ।

संस्थाको नेतृत्व जीवन रावलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा डम्बर रोकाया, सचिवमा डम्बर शाही, कोषाध्यक्षमा भरत रावल चयन भएका छन् । साथै, अन्य पाँच जना सदस्यसहित समिति पूर्णता पाएको छ ।

होली कार्यक्रममा देउडा नृत्य, सुदूरपश्चिमेली लोकगीतहरू प्रस्तुत गरिनुका साथै रंगको उत्सवलाई उल्लासमय वातावरणमा मनाइएको थियो । सहभागीहरूले कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएका आयोजक समितिलाई धन्यवाद व्यक्त गरेका छन् ।

सुदूरपश्चिमेली समुदायको एकता, पहिचान र संस्कृति जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाले आगामी दिनमा थप गतिविधि गर्ने योजना बनाएको छ ।

Loading...