बझाङमा स्कारपियोको ठक्करबाट एक वृद्ध घाइते भएका छन् ।
जिल्लाको बित्थडचिर गाउँपालिका-४, देउलेखस्थित जयपृथ्वी राजमार्गमा शनिबार बिहान बझाङबाट धनगढीतर्फ गइरहेको सु.प.प्र ०४००१ च ०१७२ नम्बरको स्कारपियोले सडकमा हिँडिरहेका बित्थडचिर-६ का ७२ वर्षीय धने धामीलाई ठक्कर दिएको हो ।
ठक्करपछि धामी सडकमा लडेका थिए । उनको शरीरमा बाहिरी चोट खासै नदेखिए पनि, भित्री चोट लागेको हुन सक्ने आशंका गरिएको छ । उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र देउलेख बझाङमा लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक पर्ने भन्दै स्कारपियो चालक कैलालीका सहदेव सिंहले उनलाई धनगढीतर्फ लगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते धामीको अवस्था सामान्य रहेको बताइएको छ ।