बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ सबेला भन्ने स्थानमा भएको कुटपिट घटनामा पाँच जना घाइते भएका छन् । बुधबार साढे ६ बजेको समयमा स्थानीय सितल सिंह, छबिस-७ का सुनिल धामी र बबुल धामीसहित ४-५ जनाको समूहले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
घटनाको जानकारी पाएपछि प्रहरी चौकी पाटागाउँबाट प्रहरी निरीक्षक विष्णु जोशीको कमाण्डमा तीन जना प्रहरी टोली तत्कालै खटिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएको छ भने कुटपिटमा संलग्नहरूको खोजी भइरहेको जनाएको छ ।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । झडपमा घाइतेहुने छबिस पाथिभेरा- ७ का २३ बर्षिय अमृत मण्डेलको टाउको र दायाँ हातमा चोट लागेको छ । यस्तै गोविन्द मण्डेलको पाखुरामा चोट लागेको, केशव मण्डेल, रामभक्त मण्डेलको कम्मरमा चोट लागेको छ भने राजन मण्डेल निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।