केदारस्युँ गाउँपालिकाका बजारमा अनुगमन : म्याद नाघेका ५४ हजार बराबरका सामग्री नष्ट

नयाँ वर्ष नजिकिँदै गर्दा केदारस्युँ गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ । मंगलबार गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र देउरा र बागथला बजारमा संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

उपाध्यक्ष मनिसा धामीको नेतृत्वमा गरिएको अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्यान्न, जङ्क फुड, सुर्तीजन्य पदार्थ तथा पेयपदार्थजस्ता दैनिक उपभोग्य वस्तुहरू बरामद गरिएका छन् । तीमध्ये करिब ५४ हजार रुपैयाँ बराबरका सामग्री तत्काल नष्ट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष मनिसा धामीले म्याद सकिएका वस्तुहरू बिक्री नगर्न व्यवसायीहरूलाई कडा चेतावनी दिँदै सबै पसललाई वडा तथा घरेलु कार्यालयमा अनिवार्य रूपमा दर्ता गराउन आग्रह गरेकी छन् ।

गाउँपालिकाले बजारलाई स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउने लक्ष्यसहित यस्ता अनुगमन कार्यलाई नियमित रूपमा अघि बढाएको जनाएको छ । पालिकाले हरेक ३ देखि ४ महिनामा बजार अनुगमन गर्ने गरेको छ ।

 

म्याद नाघेका सामग्रीको सेवनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले पालिकाले सबैलाई सजग र सचेत रहन समेत आग्रह गरेको छ ।

Loading...