बझाङमा चट्याङ र हावाहुरीले विद्युत लाइनमा क्षति, सेवा ठप्प

बझाङ : बुधबार साँझ आएको हावाहुरी र पानीसँगै परेको चट्याङले बझाङको खोड्पे–बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति पुर्‍याएको छ ।

चट्याङले बित्थडचिर गाउँपालिकाको सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुर्‍याउँदा जिल्लामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको हो ।

विद्युत् अवरुद्ध भएपछि स्थानीय बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । दैनिक जीवन प्रभावित हुनुका साथै सरकारी तथा निजी कार्यालय, अस्पताल, सञ्चार माध्यम र अन्य सेवा प्रदायक संस्थाहरू समेत प्रभावित भएका छन् ।

विद्युत् आपूर्ति पुनः सुचारु गर्नका लागि बझाङको चैनपुर र बाग्थला वितरण केन्द्रका प्राविधिक तथा कर्मचारीहरू  खटिएको नेपाल विद्युत प्राधिकरण बझाङले जनाएको छ । मर्मत कार्य भइरहेको र यथासक्य चाँडो विद्युत सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार प्रसारण लाइनको क्षतिको दायरा अझै यकिन हुन बाँकी रहेकाले सेवा सुचारु हुन केही समय लाग्न सक्नेछ ।

Loading...