बझाङ: नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५६ औं स्थापना दिवसको अवसरमा बझाङ दिप क्याम्पस परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
बझाङदिप क्याम्पस इकाई कमिटीको आयोजनामा बुधबार गरिएको कार्यक्रममा विद्यार्थी, संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । क्याम्पस परिसरमा सरसफाइसँगै विभिन्न प्रजातीका बिरुवा रोपेर वातावरणको संरक्षण गर्न खोजिएको नेविसंघ बझाङदिप क्याम्पस कमिटीले जनाएको छ ।
कार्यक्रमका बारेमा जानकारी दिंदै नेविसंघ बझाङदिप क्याम्पस इकाई कमिटीका सभापति आकाश गिरिले भने, “हाम्रो संगठनले स्थापना दिवसलाई औपचारिकता पूरा गर्न होइन, समाजमा सकारात्मक योगदान पुर्याउने माध्यमका रूपमा लिनुपर्छ भन्ने सन्देश दिन चाहेका छौं । सरसफाइ र वृक्षारोपणले वातावरणप्रति हाम्रो जिम्मेवारी जनाउँछ ।”
स्थापना दिवसको अवसरमा गरिएको सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमले विद्यार्थीहरूमा सेवा भावना र पर्यावरणप्रति चेतना जागृत गराउने विश्वास गरिएको छ ।