बझाङमा डर लाग्दो मौसम: वर्षा, हावाहुरी र असिनापानीले जनजीवन प्रभावित

बाढी–पहिरोको जोखिम बढ्यो

सुनिल मण्डेल बझाङ : जिल्लामा आजको दिन मौसम एकाएक डर लाग्दो बनेको छ । बिहानैदेखि रात परेझैं अन्ध्यारो वातावरण र भीषण मौसमले जिल्लावासी त्रसित छन् । जिल्लाका विभिन्न स्थानहरूमा अहिले भारी वर्षा, मेघगर्जन, चट्याङसहितको भयानक हावाहुरी चलिरहेको छ । कतिपय स्थानहरूमा असिनापानीसमेत परेको स्थानीयले जनाएका छन् ।

मौसमका कारण विशेषगरी कृषकहरू मारमा परेका छन् । भित्र्याउने तयारीमा रहेको गहुँ, जौं लगायतका अन्नबाली असिनाले क्षति पुर्‍याएपछि किसान चिन्तामा परेका छन् । “गहुँ भित्र्याउनै लागिएको थियो, असिनाले पूरै नष्ट पार्‍यो,” एक स्थानीय किसानले बताए । बर्षाका कारण विद्युत सेवा अवरुद्ध भएको छ । यस भीषण मौसमको कारणले जिल्लामा बाढी र पहिरोको जोखिमसमेत बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हालको यो असामान्य मौसम गतिविधिको मुख्य कारण पश्चिमी वायु प्रणाली रहेको छ । विभागका अनुसार पाकिस्तान र अफगानिस्तान क्षेत्रबाट सर्ने पश्चिमी वायु प्रणाली नेपालको पश्चिमी भेग हुँदै प्रवेश गर्दा यस्तो अवस्था सिर्जना भएको हो ।

विभागले अझै केही दिन यस्तै मौसम रहन सक्ने पूर्वानुमान गर्दै नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । स्थानीय प्रशासनले पनि उच्च जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

Loading...