बझाङ : जिल्लाको बुङ्गल नगरपालिका-१ डोलीर मन्दिरमा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छाडेको हप्तौं भइसकेको छ । स्थानीयवासीका अनुसार टावरले नियमित सेवा दिन छाडेको हो, जसका कारण सञ्चारमा गम्भीर समस्या उत्पन्न भएको छ ।
रातिको समयमा सम्पर्क गर्न कठिन हुने, आपतकालीन अवस्थामा झन् समस्या हुने स्थानीयले गुनासो गरेका छन् । दिउँसो पनि टावरले घामको भरमा मात्र आंशिक रूपमा सेवा दिइरहेको छ । एक स्थानीय बासिन्दाले भने, “दिउँसो त अलिअलि चल्छ, तर राति पूरै बन्द हुन्छ । यो समस्याले हामीलाई निकै हैरान बनाएको छ ।”
सञ्चार सेवा अवरुद्ध हुँदा विद्यालयका विद्यार्थी, सरकारी कामकाज, बैंकिङ सेवा तथा अन्य अनलाइन सेवा प्रभावित भएका छन् । इन्टरनेटको भरमा चल्ने दैनिक कार्य ठप्प भएका छन् भने आकस्मिक अवस्थामा सम्पर्क गर्न नसकिने अवस्था सिर्जना भएको छ ।
यता नेपाल टेलिकम बझाङ शाखाका प्रमुख बमबहादुर सिंहले टावर रातिको समयमा बन्द हुनुको कारण प्राविधिक नभई ऊर्जा अभाव रहेको बताए । उनले भने, “विद्युत नभएर समस्या हुने गरेको हो । हामीले तीन महिनाअघि सोलार जडान गरेका हौं, तर सोलारमा पर्याप्त पावर नभएपछि राति टावरले काम गर्न छोड्छ । घाम लागेको बेला मात्रै टावर सञ्चालनमा आउँछ ।”