बान्नीकि चैतलीमा आयोजित क्रिकेट प्रतियोगिता सम्पन्न, दुर्गाथली-७ दौला विजेता

बझाङ : बझाङ जिल्लाको सबैभन्दा ठूलो, ऐतिहासिक तथा धार्मिक मेला मानिने बान्नीकि चैतलीको अवसर पारेर आदर्श युवा क्लबले आयोजना गरेको   वडास्तरिय खुल्ला क्रिकेट प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ ।

चैत ३० गतेदेखि सुरु भएको प्रतियोगिता बुधबार समापन भएको हो । प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो । फाइनल खेलमा दुर्गाथली–७ दौलाले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि चुमेको हो ।

दुर्गाथली–७ दौलाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । निर्धारित ओभरमा उसले ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुर्मा गाउँपालिका–३ ले १२ ओभरको समाप्तिमा जम्मा ७५ रन मात्र बनाउन सक्यो । यससँगै दुर्गाथली–७ दौलाले ५५ रनको फराकिलो जित निकाल्दै उपाधि हात पार्‍यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका सुर्मा गाउँपालिकाका जंगबहादुर बोहरालाई म्यान अफ द सिरिज घोषणा गरिएको छ ।

कार्यक्रम संयोजक हिक्मत बोहराले प्रतियोगिताको सफल आयोजनामा साथ दिने सम्पूर्ण टिम, खेलाडी, दर्शक, प्रायोजक तथा सुरक्षाकर्मीहरूलाई धन्यवाद दिंदै भने, “खेलकुदले युवाहरूलाई अनुशासित, जिम्मेवार र सहकार्यमा विश्वास गर्ने बनाएको छ । यस्ता प्रतियोगिताहरूले स्थानिय प्रतिभालाई पनि उजागर गर्नुका साथै सामाजिक एकता बढाउन ठूलो भूमिका खेलेको छ भन्ने विश्वास गरेको छु । आगामी दिनमा अझ व्यवस्थित र भव्य प्रतियोगिता गरिने हाम्रो प्रतिबद्धता छ ।”

यश प्रतियोगिताले मेलाको रौनक थप्नुका साथै स्थानिय युवामा खेलप्रतिको रुचि अझ बढाएको छ ।

Loading...