कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएएचएस) मा डा. डबल बहादुर धामी निमित्त उपकुलपति नियुक्त हुनुभएको छ । सम्माननीय प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति श्री केपी शर्मा ओलीको मिति २०८२ साल वैशाख ४ गतेको निर्णयअनुसार उपकुलपति पद रिक्त रहेको अवस्थामा डा. धामीलाई शैक्षिक, प्रशासनिक र आर्थिक कार्यहरू सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
हाल डा. धामी सोही प्रतिष्ठानमा रेक्टर तथा सह-प्राध्यापकको रूपमा कार्यरत हुनुहुन्छ । उहाँ २०४० सालमा सुदूरपश्चिम नेपालको बझाङ जिल्लाको छबिस पाथीभेरा गाउँपालिका–५, थलारा स्थित एक सामान्य किसान परिवारमा जन्मिनुभएको हो । बाल्यकालदेखि नै मेधावी र लक्ष्यप्रति दृढ डा. धामीले बझाङ जिल्लाबाट एसएलसीमा शीर्ष स्थान हासिल गर्नुभएको थियो ।
उहाँले अमृत साइन्स क्याम्पसबाट आइएस् सी (ISC) उत्तीर्ण गर्नुभएको थियो भने सन् २००९ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस), धरानबाट दन्त शल्य चिकित्सक (बीडीएस) उपाधि प्राप्त गर्नुभएको थियो । त्यसपछि सन् २०१४ मा नेपालगन्ज मेडिकल कलेज, काठमाडौँ विश्वविद्यालयबाट क्लिनिकल फार्माकोलोजी तथा थेराप्युटिक्समा एमडी (MD) उपाधि हासिल गर्नुभयो ।
विगत १२ वर्षदेखि उहाँ क्लिनिकल फार्माकोलोजीको क्षेत्रमा अध्यापन, अनुसन्धान र नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्छ। विद्यार्थीमैत्री, मृदुभाषी, सहयोगी, समय पालक र सिर्जनात्मक सोच भएका अनुशासित शिक्षाविद् डा. धामी प्रतिष्ठानभित्र विश्वासिलो र सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ ।
उहाँको दूरदर्शी नेतृत्वमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अझ प्रभावकारी, समावेशी र गुणस्तरीय शैक्षिक गन्तव्यका रूपमा विकास हुने विश्वास लिइएको छ ।