बझाङ : हालै आएको असिना पानी र हुरीले जयपृथ्वी नगरपालिकाका विभिन्न वडा र टोलमा गम्भीर क्षति पुर्याएको छ । हावाहुरीसहितको असिनाले नगरपालिकाभित्र रहेका किसानका बाली, तरकारी फार्म, टनेल हाउस, र केही घरहरू पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् ।
विशेषगरी जयपृथ्वी नगरपालिका- ३ स्थित पुगर, सिमलतोला क्षेत्रका किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यस क्षेत्रका किसानहरूले लगाएको जौ बाली, जुन १० क्विन्टल सम्म फल्ने आशा गरिएको थियो । अहिले १/२ क्विन्टल पनि मुस्किलले बचेको गुनासो गरिको छ । त्यस्तै, जिविकोपार्जनको मुख्य आधार बनाएका तरकारी खेती र टनेल हाउसहरू समेत पूर्णरूपमा नष्ट भएका छन् ।
एमालेका युवा नेता प्रविन्द्र धामीले सामाजिक सञ्जाल मार्फत जनप्रतिनिधि र पालिकाको ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा क्षति मूल्यांकनको माग गरेका छन् । उनले भनेका छन्, “विकासका ठूला गफहरू बिस्तारै गर्दै गर्नुहोला, तर हाललाई किसानहरूले राहत पर्खिरहेका छन् । पालिकाले आगामी बजेटमा अनिवार्य बाली तथा पशु बीमाको अवधारणा अघि सार्नुपर्छ र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ ।”
स्थानीयबासीहरू तत्काल क्षतिको यथार्थ अध्ययन गरी वास्तविक पीडित किसानलाई राहत दिन पालिकालाई आग्रह गरिरहेका छन् ।
