बझाङको बित्थडचिर गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने जिल्लाको दोस्रो पालिका बनेको छ । शुक्रबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका सभाध्यक्ष गाउँपालिका अध्यक्ष अमरसिंह महर रहेका थिए भने प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा थिए । बोहराले कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्यजस्तो संवेदनशील विषयमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले भने, “पूर्ण खोप सुनिश्चितताले स्वास्थ्य सुरक्षाको आधार मजबुत बनाउँछ । यसमा स्थानीय सरकार, स्वास्थ्यकर्मी, स्वयंसेविका र आम समुदायको महत्त्वपूर्ण योगदान रहेको छ ।”
जिल्ला स्वास्थ्य कार्यालय बझाङका खोप सुपरभाइजर भानुभक्त जोशीले खोपको पहुँच वृद्धि र नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन यो घोषणा अपरिहार्य भएको बताए ।
स्वास्थ्य शाखा प्रमुख गौरिलाल बोहराले कार्यपत्र प्रस्तुत गर्दै बित्थडचिरका सबै वडामा खोप अभियान सफलतापूर्वक सञ्चालन भएको जानकारी गराए । उनले अभियानमा सक्रिय योगदान गर्ने स्वास्थ्यकर्मी, स्वयंसेविका र स्थानीय निकायलाई धन्यवाद ज्ञापन गरे ।
यस्तै, कार्यक्रममा बित्थडचिर गाउँपालिका-९ का वडाध्यक्ष तथा प्रवक्ता हरिसचन्द्र जोशीले भने, “पूर्ण खोप सुनिश्चितता हाम्रो पालिकाको ऐतिहासिक उपलब्धि हो । अब निरन्तरता र दिगोपनामा जोड दिन आवश्यक छ।” यस अवसरमा पालिकाभित्रका सबै वडाका अध्यक्ष, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुखलगायतको उल्लेखनीय उपस्थिति थियो ।
स्वास्थ्य सेवामा योगदान गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो, भने विगत लामो समयदेखि सेवा दिँदै आइरहेकी स्वास्थ्य स्वयंसेविका नारुली स्याडालाई सम्मानसाथ बिदाइ गरिएको थियो । उनलाई ५० हजार रुपैयाँ नगद, ब्लाङ्केट, सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो ।
समापन मन्तव्य दिँदै गाउँपालिका अध्यक्ष अमरसिंह महरले सम्पूर्ण टोलटोलमा जनचेतना फैलाएर खोप अभियानलाई सफल बनाउने सबैलाई धन्यवाद व्यक्त गरे । उनले भने, “यो अभियान सस्तो वा सामान्य होइन, यसको मूल्य भविष्यमा स्वस्थ पुस्ताले बुझ्नेछन् ।”