बझाङ : संस्कृति र संवेदनालाई एकै साथ समेट्दै छबिसपाथिभेरा गाउँपालिका–७ का वडाध्यक्ष विजयबहादुर धामीले आफ्नो स्वरमा नयाँ लोकदेउडा गीत ‘कै सम्झी हाँस्नु हो’ सार्वजनिक गरेका छन् ।
युट्युबमार्फत शुक्रबार सार्वजनिक भएको यस म्युजिक भिडियोले गीतसंगीतमा मनोरञ्जन मात्र नभई आत्मीयता र स्मृतिलाई पनि समेट्ने प्रयास गरिएको छ । गीतमा विजय धामी र सोनिया परियारको युगल स्वर रहेको छ भने शब्द विजय धामीका दिवंगत दाजु सत्यराम धामीले लेखेका हुन् । दिवंगत दाजुको रचना र भाइको स्वरको समिश्रणले गीतलाई भावनात्मक श्रद्धाञ्जलीको रूपमा प्रस्तुत गरिएको छ । संगीत पनि स्वयं विजय धामीकै रहेको यस गीतले पारिवारिक सम्झना, वियोगको पीडा र आत्मीय सम्बन्धलाई संगीतको माध्यमबाट उजागर गरेको छ ।
म्युजिक भिडियोमा दशरथ जप्रेल, अशोक धामी, मनीषा सिंह, जानकी बोहरा लगायतको अभिनय रहेको छ भने छायांकन छबिसपाथिभेरा–७ का रमणीय स्थानहरूमा गरिएको छ । भिडियोले मौलिक लोकदेउडा शैलीलाई आधुनिक प्रस्तुतिमा ढालेको छ, जसले युवा पुस्तामा समेत आकर्षण सिर्जना गर्ने विश्वास लिइएको छ ।
सांस्कृतिक क्षेत्रमा पहिल्यैदेखि सक्रिय वडाध्यक्ष धामीले यसपटक संगीतलाई आत्मीय भावनाको माध्यम बनाउँदै पारिवारिक सम्झनालाई सार्वजनिक गरेका छन् ।
भिडियो यहाँ हेर्नुस् :