बित्थडचिर गाउँपालिकामा दुईदिने आँखा शिविर सम्पन्न, सयौंले सेवा पाए

बित्थडचिर गाउँपालिका अन्तर्गत देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा दुईदिने आउटरीच माइक्रोसर्जिकल आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ४५ जनाले आँखा परीक्षण गराएका थिए, जसमा ६९ जनाको सफल शल्यक्रिया गरिएको हो । ७४ जनलाई निशुल्क चस्मा दिइएको हो ।

शिविर समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष अमरसिंह महरले शिविरमा अहोरात्र खटिएका गेटा आँखा अस्पतालका स्वास्थ्यकर्मीलाई धन्यवाद दिंदै सम्मानपूर्वक बिदाइ गरेका छन् ।

अध्यक्ष महरले शिविर स्थलमै पुगेर बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

यसअघि, बैशाख ६ र ७ गते भैरव मावि झोतामा आयोजित शिविरमा ३ सय ३९ जनाले आँखा परीक्षण गराएका थिए । तीमध्ये ९५ जनाको शल्यक्रिया गरिएको थियो, भने ८४ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

त्यसैगरी, बैशाख ९ र १० गते जयपृथ्वी नगरपालिका अन्तर्गत जालापा माविमा सञ्चालन गरिएको शिविरबाट ६ सय ४५ जनाले सेवा लिएका थिए । उक्त शिविरमा २०५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो ।

शिविरपछि स्थानीय वृद्धवृद्धाहरू आँखा देख्न थालेपछि खुशी हुँदै घर फर्किएका थिए । आयोजक संस्थाहरूले आगामी दिनमा यस्ता स्वास्थ्य सेवाहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

Loading...