दक्षिण एशियामा छाउँदै गएको युद्धको छायाँ

भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा चुलिएको तनावले सम्पूर्ण दक्षिण एशियाको स्थायित्वमाथि गम्भीर असर पुर्‍याउन सक्छ । कश्मीरको संवेदनशील क्षेत्रमा भएको आक्रमण र त्यसपछि सुरु भएको सैन्य प्रतिघातले दुई आणविक शक्तिहरूबीचको सम्बन्ध फेरि युद्धको संघारमा पुर्‍याएको छ ।

दुबै देश विगत सात दशकदेखि तनावको चक्रमा फसेका छन् । कूटनीतिक संवाद कहिल्यै स्थायी रूपमा अघि बढ्न सकेन, जसको परिणामस्वरूप साना घटनाहरू पनि अहिले ठूलो संकटमा रूपान्तरित हुन थालेका छन् । हालैका आक्रमण, मिसाइल प्रहार र एकअर्कालाई दिइएका चेतावनीहरूले दुई राष्ट्रबीच विश्वासको खाडल झनै गहिरो बनाएको छ । यो स्थितिको सबैभन्दा चिन्ताजनक पक्ष भनेको  दुबै मुलुक आणविक शक्ति सम्पन्न हुनु हो ।

युद्धको सम्भावनाले  भारत र पाकिस्तानका लाखौं नागरिकको जीवन जोखिममा पारेको छ । पुरै दक्षिण एशियामा मानवीय संकट र दीर्घकालीन अस्थिरताको खतरा उत्पन्न गराउँछ । सानो गल्ती, एक गलत निर्णय वा भ्रमका कारण सम्भावित विनाशको कल्पना पनि गर्न सकिँदैन ।

यस्तो संवेदनशील घडीमा अन्तर्राष्ट्रिय समुदायको भूमिका निर्णायक हुनसक्छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन र अन्य प्रभावशाली राष्ट्रहरूले दुवै पक्षलाई तत्काल कूटनीतिक संवादमा ल्याउन पहल गर्नु आजको आवश्यकता हो । तनावलाई नियन्त्रण गर्न सकिएन भने यसले क्षेत्रीय मात्र होइन, विश्वव्यापी असर पार्न सक्छ ।

यस घडीमा सबैभन्दा जरुरी कुरा हो, संयम, संवाद र सहिष्णुता । शक्ति प्रदर्शनभन्दा पनि मानव जीवनको रक्षा र शान्ति स्थापनामा केन्द्रित हुनुपर्ने समय यही हो । भारत र पाकिस्तान दुबै राष्ट्रले जिम्मेवार शक्ति भएर गम्भीर कदम चालून्, यही हो आजको प्रमुख आवश्यकता ।

Loading...