
बझाङ : बित्थडचिर गाउँपालिकामा अध्यक्षसंग जेष्ठ नागरिक लक्षित घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रम गाउँपालिकाको ४ र ५ अन्तर्गतका विभिन्न टोलहरूमा सञ्चालन गरिएको हो ।

कार्यक्रम अन्तर्गत वडा नं. ४ को तल्ला भतडा दलित टोल, डुङ्री टोल, मल्ला भतडा र तोल्यान टोल तथा वडा नं. ५ को महर गाउँ टोल र बाल्लेख टोलमा पुगेर ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको रक्तचाप, मधुमेह (ब्लड ग्लुकोज) जाँच लगायतको सामान्य स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्यकर्मीहरूको टोलीले आवश्यक औषधि वितरण गर्नुका साथै असल खानपान, जीवनशैली तथा व्यवहार परिवर्तनसम्बन्धी परामर्श पनि प्रदान गरेको थियो । कार्यक्रममा लाभान्वित स्थानीयले यस्तो सेवा आफ्नो घरदैलोमै प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

गाउँपालिका अध्यक्ष अमर सिंह महरले जेष्ठ नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।