सुनिल मण्डेल बझाङ : एक दशकभन्दा लामो समयदेखि बन्द अवस्थामा रहेको डोब्रा सामुदायिक अस्पताल पुनः सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । छविसपाथिभेरा गाउँपालिका–१ जिव्लीमा अवस्थित यो अस्पताल अब औपचारिक रूपमा गाउँपालिकाको जिम्मा लगाइनेछ ।
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षको प्रमुख आतिथ्यतामा, सबै वडाध्यक्षहरूको उपस्थितिमा १५ गते विशेष हस्तान्तरण कार्यक्रम आयोजना गरिने छबिस पाथिभेरा गाउँपालिका– १ को कार्यालयले सूचना मार्फत जानकारी दिएको छ । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, भद्र भलाद्मी, कार्यपालिका सदस्य, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, शाखा प्रमुखहरू तथा सम्पूर्ण वडावासीहरूलाई उपस्थितिका लागि औपचारिक निम्तो दिइएको छ ।

डोब्रा अस्पताल २०६६ सालमा जापानी राजदूतावासको ६१ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको थियो । साथै, तत्कालीन ब्याँसी गा.वि.स.बाट ७० हजार, मटेला गा.वि.स.बाट ३ लाख र स्थानीय नागरिकको ५० लाख रुपैयाँभन्दा बढीको जनश्रमदान समेत अस्पताल निर्माणमा लागेको थियो । तर आवश्यक स्वास्थ्यकर्मीको अभाव, अस्पताल व्यवस्थापन र स्थानीय निकायको गम्भीर लापरबाहीका कारण अस्पताल सञ्चालनमा आउन नसक्दा त्यसको संरचना र लाखौँ मूल्यका उपकरणहरू प्रयोगविहीन हुँदै बिग्रन थालेका थिए । स्वास्थ्य सेवा नपाएर छविसपाथिभेरा गाउँपालिका बासिन्दाहरू सामान्य उपचारका लागि समेत टाढाको सदरमुकाम धाउन बाध्य थिए ।
पुनः सञ्चालनको आशा
अब भने अस्पताल व्यवस्थापन समितिले स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेपछि पुनः सञ्चालनको बाटो खुलेको छ । वडा कार्यालयले चालू आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । वडाध्यक्ष करनजंग बहादुर सिंहका अनुसार, अस्पताल पुनः सञ्चालनपछि तत्काल ‘बर्थिङ सेन्टर’ स्थापनाको तयारी भइरहेको छ । जसबाट स्थानीयले आधारभूत स्वास्थ्य सेवा गाउँमै प्राप्त गर्न सक्नेछन् ।