अविरल वर्षाले देउरा–थलारा काठेपुल बगायो, आवतजावतमा समस्या

निराजन खड्का बझाङ : केदारस्युँ गाउँपालिका–१ देउरा र थलारा जोड्ने काठेपुल गएरातिको अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले बगाएको छ । पुल बगाएपछि स्थानीयवासीलाई दैनिक आवतजावत र कृषि उपज बजारसम्म पुर्‍याउन गम्भीर समस्या परेको छ ।

थलारा रेगम र आसपासका बासिन्दाको मुख्य व्यापारिक केन्द्र देउरा बजार हो । तर, देउरा र थलारा जोड्ने काठेपुल बगाएपछि त्यहाँका नागरिकहरू दैनिकरूपमा असरमा परेका छन् ।
यसअघि २०७८ सालको कात्तिकमा आएको बाढी–पहिरोले उक्त स्थानको झोलुङ्गे पुल समेत बगाएको थियो । त्यसपछि नयाँ झोलुङ्गे पुल निर्माणका लागि टेन्डर आह्वान गरिए पनि पुल निर्माण पूरा हुन सकेको छैन ।

थलारा गाउँपालिका साविकको दङ्गाजी–१ का स्थानीयवासीसँगै डोटीको छपाली क्षेत्रका नागरिकले समेत सो पुल प्रयोग गर्दै आएका थिए । असोज ३१ देखि कात्तिक ३ गते सम्मको अविरल वर्षाका कारण सेतीमा आएको बाढीले पुरानो झोलुङ्गे पुल बगाएपछि उनीहरू झनै समस्यामा परेका हुन् ।

स्थिति सहज बनाउन केदारस्युँ गाउँपालिकाले डोजर सहयोग गरेपछि देउरा बजारका व्यापारीहरूले चन्दा संकलन गरी ४२ हजार रुपैयाँमा काठको साँघु निर्माण गरेका थिए । सो साँघुले केही समय सहजता ल्याएको थियो । तर, गएरातिको पानीले सो काठको पुल पनि बगाएको छ । स्थानीयवासीले तत्काल वैकल्पिक व्यवस्था गर्न सरोकारवाला निकायसँग माग गरेका छन् ।

Loading...