सुनिल मण्डेल बझाङ : जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–१, जिवलीमा रहेको डोब्रा सामुदायिक अस्पताल एक दशकको लामो निष्क्रियता र अलपत्र अवस्थाबाट मुक्त हुँदै पुनः सञ्चालनमा आउन लागेको छ । शुक्रबार आयोजित एक विशेष कार्यक्रममा डोब्रा सामुदायिक अस्पताल व्यवस्थापन समितिले अस्पतालको सम्पूर्ण स्वामित्व र संरचना औपचारिक रूपमा स्थानीय सरकार छबिस पाथिभेरा गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।
गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नागरिक अगुवा र स्थानीयको बाक्लो उपस्थिति थियो । विगतमा अस्पताल सञ्चालनमा आएको भए तापनि जनशक्ति र स्रोतको अभाव, साथै सम्बन्धित निकायको बेवास्ता र मौनताका कारण अस्पताल जिर्ण अवस्थामा पुगेर पूर्ण रूपमा बन्द हुनुपरेको थियो ।
अब भने गाउँपालिकाको प्रत्यक्ष समन्वय र नेतृत्वमा अस्पताललाई सञ्चालनमा ल्याउने मात्र होइन, ‘बर्थिङ सेन्टर’ को रूपमा समेत विकास गरिने योजना अघि सारिएको छ । यसबाट स्थानीय बासिन्दाहरूलाई सामान्य उपचार, सुत्केरी सेवा र प्राथमिक उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ ।
जनश्रम, अन्तर्राष्ट्रिय सहयोग र विगत
यो अस्पताल करीब ३५ रोपनी सार्वजनिक पर्ती जग्गामा जापान सरकारको आर्थिक सहयोग तथा स्थानीय जनश्रम र बुद्धिजीवीहरूको सक्रियतामा निर्माण गरिएको हो । जापानको नेपालस्थित दूतावास अन्तर्गतको जिजिपी बाट प्राप्त ६७ लाख रुपैयाँ सहयोग र २५ लाख रुपैयाँ बराबरको स्थानीय जनश्रमदानबाट अस्पताल निर्माण गरिएको थियो ।
स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १५ सैयाको क्षमता रहेको डोब्रा सामुदायिक अस्पतालमा अहिले इन्डोर र आउटडोर भवन, डाक्टर–नर्स क्वार्टर, फार्मेसी स्टल, जेनेरेटर घर, क्यान्टिन, ल्याब, एक्स–रे सेवा, तथा मिनी अपरेशन थिएटर समेत उपलब्ध थिए । साथै अस्पतालमा खानेपानी, बिजुली पहुँच जस्ता आधारभूत पूर्वाधारहरू पनि सुनिश्चित गरिएका थिए तर अहिले ति सबै शाखा रित्तो छन्, सामाग्रीहरु अलपत्र छन्, भौतिक संरचना जिर्ण छ । यस्तो पूर्वाधार र स्वास्थ्य सेवा सुविधा रहेको अस्पताल सुचारु भएमा बझाङकै सबैभन्दा घनाबस्ती भएको यस क्षेत्रका करिब २५ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अवस्था रहेको छ ।

कार्यक्रम समापन गर्दै वडाध्यक्ष करनजंग बहादुर सिंहले भने, “गाउँपालिकाभित्र नमुना काम गर्न सकियो भने विकासले गति लिन्छ । हामीले आज जिम्मेवारी लिएका छौं, त्यसअनुसार सेवा दिन कुनै चुक हुन दिन्नौं ।” उनले कार्यकाल सकिनुअघि बजेटको दायरा अनुसार अस्पताल सुदृढीकरणका कार्यहरू सम्पन्न गरिने बताए ।

नयाँ व्यवस्थापन समिति गठन, प्रारम्भिक कार्यहरू सुरु
पुरानो समितिबाट स्वामित्व हस्तान्तरण भएसँगै अब नयाँ व्यवस्थापन समिति गठन गरिएको छ । वडाध्यक्ष करनजंग बहादुर सिंहको अध्यक्षतामा समिति पुनर्गठन गरिएको हो, जसमा ७ जना सदस्य र ३ जना सल्लाहकार पनि छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनराज जोशी बिरामी परेका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । उनले गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेलाई पठाएको हस्तान्तरण पत्रमार्फत अस्पताल सञ्चालनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकालाई सुम्पिएको र आवश्यक मर्मत, जनशक्ति व्यवस्थापन तथा स्वास्थ्य सेवा पुनः सञ्चालनका लागि सक्दो सहयोग गर्न आग्रह गरेका छन् । उनले पत्रमा उल्लेख गरे अनुसार, “स्थानिय जनताको प्रयासबाट मात्र अस्पताल सञ्चालन सम्भव नदेखिएकोले अब सम्बन्धित सरकारलाई जिम्मा दिइएको छ । भौतिक संरचना, उपकरण, सेवा पूर्वाधार सबै गाउँपालिकाको स्वामित्वमा प्रयोग हुने गरी हस्तान्तरण गरिएको छ ।”

