पुर्ण खोपमा समर्पित छबिस पाथिभेरा : स्वास्थ्य सुरक्षामा सशक्त प्रतिबिम्ब

बझाङ : ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ छबिस पाथिभेरा गाउँपालिका शुक्रबारदेखि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको पालिका बनेको छ । गाउँपालिका खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा खोप सुनिश्चितता, यसको निरन्तरता तथा दिगोपनाका लागि औपचारिक घोषणा गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख कृष्ण बिष्टले खोपका माध्यमबाट शिशु मृत्युदर घटाउनु र स्वस्थ समाज निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । उनले स्थानीय सरकारको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा देखिएको सुधार प्रशंसनीय रहेको भन्दै यसलाई थप मजबुत र दिगो बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेले भने, “विगतका दिनहरूमा हाम्रो पालिका स्वास्थ्यका मापदण्डमा जिल्लामै अगाडि रहँदै आएको छ । आजको यो घोषणा कार्यक्रमले स्वास्थ्यको क्षेत्रमा हामी कति सन्तुलनमा छौं भन्ने प्रमाणित गरेको छ ।” उनले सबै स्वास्थ्यकर्मी, स्वयंसेविका तथा सरोकारवालालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि खोपको निरन्तरता र गुणस्तरमा जोड दिने प्रतिवद्धता जनाए ।

स्वास्थ्य शाखा प्रमुख अम्मराज थापाले पालिकाभित्रका सबै १५ महिना उमेर समूहका बालबालिकाले आवश्यक सबै नियमित खोप प्राप्त गरिसकेकाले पुर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिएको जानकारी दिए । “यो उपलब्धि सबैको सामूहिक प्रयास र जनचेतनाको प्रतिफल हो,” उनले भने । स्वास्थ्य शाखाका प्रतिनिधि दिपक बहादुर बोहराले कार्यपत्र प्रस्तुत गर्दै खोपको स्थिति, पहुँच, चुनौती र समाधानका उपायहरूबारे विस्तृत जानकारी दिएका थिए ।

यस अवसरमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विभिन्न वडाका जनप्रतिनिधि तथा स्वास्थ्य चौकी प्रमुखहरू सहितको उपस्थितिमा सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो । कार्यक्रममा ७ वटै वडाका स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी प्रमुख, शाखा प्रमुख लगायतलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

Loading...