मापसे गरि होहल्ला गर्ने बझाङका भाइरल शिक्षक प्रहरी नियन्त्रणमा

बझाङ — मादक पदार्थ सेवन गरेर समाजमा होहल्ला गरेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका – ५ स्थित थलारा माध्यमिक विद्यालयका शिक्षक काले भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्राप्त जानकारी अनुसार , दिउँसोको समयमा नै मदिरा सेवन गरेर गाउँमा होहल्ला गर्दै हिँडेका शिक्षक भट्टको व्यवहारप्रति स्थानीयवासीहरू चिन्तित बनेका थिए । यसै विषयमा अनुसन्धानको क्रममा जिल्ला प्रशासन कार्यालय बझाङले शिक्षक भट्टको खोजी गरिरहेको थियो । तर , भट्ट आफैं जिल्ला प्रशासन कार्यालय पुगेपछि उनलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी कैलास बहादुर ठकुराठीले जानकारी दिनुभयो ।

ठकुराठीका अनुसार शिक्षण जस्तो संवेदनशील पेसामा रहेर समाजमा यस्ता अशोभनीय गतिविधि गर्नु अत्यन्तै निन्दनीय हो । उनले थप अनुसन्धानका लागि भट्टलाई नियन्त्रणमा लिएको र स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जानकारी दिनुभयो ।

उक्त घटनाको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो सामग्री नेपाल एङ्गल डट कम अनलाइन पोर्टलमार्फत सार्वजनिक भएको हो । यता , भिडियो सार्वजनिक गरेपछि शिक्षक भट्ट निकट केही व्यक्तिहरूले पत्रकार सुनिल मण्डेललाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने धम्की दिएका छन् । मण्डेलले यसबारे सम्बन्धित निकायमा उजुरी दिने तयारी गरिरहेका छन् ।

 

Loading...