बझाङ : छबिस पाथिभेरा गाउँपालिकाको १६औं गाउँसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिका सभाहलमा आयोजित अधिवेशनले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम तथा बजेट पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउनेको अध्यक्षतामा भएको सभाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सामाजिक विकास, लैङ्गिक समानता र विपद् व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पारित गरेको छ ।
<span;>अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष चलाउनेले भने, “यस गाउँसभा मार्फत हाम्रो गाउँपालिकाको विकासको मार्गचित्र तयार भएको छ । सबै वडामा आवश्यक पूर्वाधार निर्माणसँगै सामाजिक सेवाहरूलाई प्रभावकारी रूपमा अघि बढाउनेछौं ।”
त्यस्तै उपाध्यक्ष लछिमन बोहराले गाउँपालिकाका योजना पारदर्शी र जनउत्तरदायी ढंगले अघि बढाइने बताउनुभयो । कार्यक्रममा प्रत्येक वडा अध्यक्ष तथा सदस्यहरूले आफ्नो वडाको योजना र प्राथमिकताहरू प्रस्तुत गरेका थिए ।
अधिवेशनमा अघिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै बेरुजु रकम असुल उपसुलका लागि निर्देशन दिइएको थियो । साथै, चालु वर्षको नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न गाउँसभाले सम्बन्धित निकायलाई निर्देशन गरेको छ ।
गाउँसभाको निर्णय अनुसार छबिस पाथिभेरा गाउँपालिकाले यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि तथा खानेपानीलगायत आधारभूत पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिनेछ । अधिवेशनमा सहभागी सबै जनप्रतिनिधिहरूले एकमतले योजना पारित गर्दै गाउँपालिकाको विकासलाई थप गति दिने प्रतिबद्धता व्यक्त गरे ।