अत्तरिया , कैलाली — सामाजिक उत्तरदायित्व अन्तर्गत बझाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच बढाउने उद्देश्यले तीनवटा अस्पतालहरूसँग छुट सम्झौता गरेको छ । समाजले धनगढी नेत्रालय, माया मेट्रो हस्पिटल र अत्तरिय हस्पिटलसँग सहकार्य गर्दै स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने व्यवस्था गरेको हो ।
समाजका अनुसार, साधारण बिरामीलाई अधिकतम २० प्रतिशतसम्म छुट दिइनेछ भने अति गरिब, असहाय तथा आर्थिक रूपमा कमजोर अवस्थाका बिरामीलाई पूर्णरूपमा निःशुल्क सेवा प्रदान गरिनेछ । सम्झौताअनुसार प्रयोगशाला, बेड चार्ज (साधारणदेखि आइसियु, निकियु र क्याबिनसम्म), टिएमटी , एबीपी, होल्टर, इको, युएसजी, एन्डोस्कोपी , सिटि स्क्यान , शल्यक्रिया कक्ष र फार्मेसी सेवामा १० देखि २० प्रतिशतसम्म छुट दिइनेछ । साथै, वरिष्ठ नागरिक तथा नियमित ओपिडी सेवामा पनि आइतबारदेखि शुक्रबारसम्म २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
सम्झौतामा धनगढी नेत्रालय, माया मेट्रो हस्पिटल र अत्तरिया हस्पिटलका तर्फबाट अस्पतालका प्रतिनिधि पहिलो पक्षका रूपमा सहभागी छन् । बझाङ सेवा समाजको तर्फबाट अध्यक्ष श्री झलक बहादुर ऐडीले दोस्रो पक्षका रूपमा हस्ताक्षर गरेका छन् ।
अध्यक्ष ऐडीले “आर्थिक अभावले उपचारबाट वञ्चित हुनेहरूलाई लक्षित गर्दै यो सहुलियत कार्यक्रम ल्याइएको हो । सेवा नै धर्म हो भन्ने भावनामा समाज प्रतिबद्ध छ,” भन्दै कार्यक्रमप्रति प्रतिबद्धता जनाए । त्यस्तै, सचिव नरेन्द्र खड्काले “देश – विदेशमा छरिएर रहेका बझाङेलीहरूलाई एकताको सूत्रमा बाँध्दै मानव सेवामा योगदान पुर्याउनु हाम्रो उद्देश्य हो,” भन्दै स्वास्थ्य क्षेत्रमा गरिएको सहकार्यलाई समाजको सक्रियताको प्रमाण भने ।
सम्झौताअनुसार, बझाङ सेवा समाजका सदस्य तथा तिनका परिवारजनले सेवाको लागि संस्थाको सिफारिस वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । सम्झौताहरू एक वा दुई वर्षको अवधिका लागि हुनेछन् र आवश्यक परे नविकरण गरिनेछ ।
स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, आर्थिक तथा सामाजिक सहयोगमा निरन्तर सक्रिय रहँदै आएको बझाङ सेवा समाजको यो पहलले विशेषगरी बझाङ पुर्ख्यौली घरभैइ कैलालीमा बसोबास गर्ने बिरामीहरूलाई उपचारमा ठूलो राहत पुग्ने विश्वास लिइएको छ ।