बझाङमा जंगली जनावरको आतंक : एकै रातमा ३ सय बढी कालिज सखाप

बझाङको खप्तडछान्ना गाउँपालिका–२ अईचेलीबगरमा रहेको गिरी बहुउद्देश्यीय नर्सरी फर्ममा जंगली बिरालोको आक्रमणबाट ठूलो क्षति भएको छ । गएराति करिब १ बजे राम गिरीको नाममा दर्ता रहेको फर्ममा जंगली बिरालो पसेर नराम्रो सँग कालिज नष्ट गरेको हो ।

प्राप्त जानकारीअनुसार, नर्सरीको माथिल्लो भागमा लगाइएको नाइलनको जाली काटेर भित्र पसेको जंगली बिरालोले फर्ममा रहेका कुल ३ सय ५१ कालिजमध्ये ३ सय १ वटा कालिज मारेको छ ।

यसबाहेक १७ कालिज घाइते अवस्थामा भेटिएका छन् भने जम्मा ३३ वटा कालिज मात्र जीवित रहेका छन् । आक्रमणकारी जंगली बिरालोलाई फर्मभित्रै लखेट्ने क्रममा मारेको प्रहरीले जनाएको छ ।

घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
प्रहरीका अनुसार यस्तो घटना वन्यजन्तु नियन्त्रण र सुरक्षाको दृष्टिकोणले पनि गम्भीर विषय भएको भन्दै आगामी दिनमा सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

Loading...