बझाङको चिसापानीमा मिनि ट्रक दुर्घटना, चालक सकुशल

बझाङ : जिल्लाको बित्थडचिर गाउँपालिका–७ चिसापानी स्थित जयपृथ्वी राजमार्गमा आज बिहान मिनि ट्रक दुर्घटना भएको छ । बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ ख १४८५ नम्बरको खाली मिनि ट्रक सडकबाट अन्दाजी २०० मिटर तल खसेको हो ।

बैतडीको शिवनाथ गाउँपालिका–५ घर भएका ३५ वर्षीय सुरत सिंह सुतारद्वारा संचालन गरिएको उक्त सवारी बिहान ११:१५ बजे खाना खानका लागि रोकिएको थियो । खाना खाएपछि चालक ट्रकको ढोका खोल्ने क्रममा ओठ टायरबाट निकालेका थिए, सोही क्रममा ट्रक अचानक ब्याक भई सडकबाट तल खसेको बझाङ प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रकमा अन्य कोही पनि नरहेकाले मानवीय क्षति नभएको र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Loading...