बझाङ : भारत र चीनले नेपालसँग परामर्शबिना लिपुलेक लिम्पियाधुरा मार्गलाई व्यापारिक नाकाको रूपमा प्रयोग गर्ने सहमति गरेको खबर सार्वजनिक भएपछि बझाङको केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले सामाजिक सञ्जालमार्फत आक्रोश प्रकट गरेका छन् ।
उनले नेपाल सरकारले अझैसम्म ठोस प्रतिक्रिया नजनाएकोमा प्रश्न उठाउँदै लेखेका छन्, “भारत र चीनबीच भएको सम्झौता तीन पक्षीय सीमा विषय भएकाले यसमा नेपाललाई बेवास्ता गर्नु ठूलो अन्याय हो ।”
बोहराले नेपालको सार्वभौमसत्ता उल्लंघन भएको भन्दै नेपाल सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । उनका अनुसार लिपुलेक मार्ग नेपालको भूभागमा पर्ने भएकाले कुनै पनि गतिविधि नेपालसँगको समन्वयबिना अस्वीकार्य छ ।
उनले नेपालले भारत र चीन दुबैलाई समावेश गरेर त्रिपक्षीय वार्ता प्रस्ताव गर्नुपर्ने सुझाव दिएका छन् । साथै, अन्तर्राष्ट्रिय मञ्चहरू संयुक्त राष्ट्रसंघ, सार्क, बिमस्टेक जस्ता प्लेटफर्ममा नेपालले आफ्नो आवाज शान्तिपूर्ण तर दृढताका साथ राख्न सक्ने कि नसक्ने भन्दै प्रश्न गरेका छन् ।
सीमाक्षेत्रमा पूर्वाधार विस्तार गर्न सरकारलाई चुनौती स्वीकार गर्नुपर्ने भन्दै उनले प्रश्न गरेका छन् । “सडक, प्रहरी/सेनाको चौकी, स्वास्थ्य तथा विद्यालय विस्तार गर्ने हिम्मत राख्ने कि नराख्ने ? सीमावर्ती बासिन्दालाई नागरिक सेवा, आर्थिक गतिविधि र सहुलियत बढाउने कार्यक्रम ल्याउने कि नल्याउने ?”
देशको सीमाबारे निराशा व्यक्त गर्दै उनले अन्त्यमा लेखेका छन्, “कठै मेरो देशको चुच्चे नक्शा रोइरहेको छ ।”