बझाङमा एक शिक्षकमाथि धारिलो हतियार प्रहार

बझाङ : बझाङमा एक शिक्षक माथी धारिलो हतियार प्रहार भएको छ । जिल्लाको मष्टा गाउँपालिका- १ रनाडा स्थित माइतिबन निम्न माध्यमिक विद्यालयमा कार्यरत अङ्ग्रेजी शिक्षक धुर्व बहादुर रोकायामाथि आइतबार राति धारिलो हतियार प्रहार भएको हो ।

अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा रोकायाको दायाँ कानको भागमा गम्भीर चोट लागेको छ । जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई थप उपचारका लागि धनगढी रिफर गरिएको परिवार स्रोतले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले अत्यधिक मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन् । तर पीडित परिवारले सामान्य लडाइँले त्यस्तो गम्भीर घाउ नहुने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

घाइते रोकायाले घटनाबारे बयान दिंदै, दुई-तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी भागेको बताएका छन् ।

पछिल्लो समय चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

Loading...