बझाङ । मजखोरी माध्यमिक विद्यालयका शिक्षक रामचन्द्र मण्डेल सेवा निवृत्त हुनुभएको छ । उहाँ २०४४ साल असारमा मजखोरी प्राविमा स्थायी नियुक्त भई ३८ वर्ष लामो शिक्षण जीवन बिताएपछि यही विद्यालयबाट सेवा निवृत्त हुनुभएको हो ।
विद्यालयले आयोजना गरेको बिदाइ कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहोरा, वडाध्यक्ष बिजय धामी, वडादश्री, स्थानीय बुद्धिजीवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा निवृत्त शिक्षक मण्डेलका अथितिहरुले दोसल्ला ओडाएर सम्मान गर्दै विधिवत् बिदाइ गर्नुभयो ।
सो अवसरमा शिक्षक मण्डेलले आफ्ना बुबा धस्से मण्डेलको नाममा ३१ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । उक्त कोषबाट विपन्न तथा गरिब विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री उपलब्ध गराइने विद्यालयले जनाएको छ ।
यसैगरी बिदाइ समारोहकै बीचमा मण्डेलले विद्यालयलाई एउटा राष्ट्रिय झण्डा र एउटा भलिबल पनि प्रदान गर्नुभएको थियो ।
मण्डेलले आफ्नो मन्तव्यमा भन्नुभयो, “यही विद्यालयमा स्थायी नियुक्त भएर यहीँबाट सेवा निवृत्त हुन पाउनु गर्व र खुशीको विषय हो । म विद्यालयकै सेरोफेरोमा छु, र भविष्यमा पनि विद्यालयको हितका लागि सधैं तत्पर रहनेछु ।”