बझाङ : देशव्यापी जेन्जी आन्दोलनका क्रममा थुप्रै कलिला युवाहरूले ज्यान गुमाएका छन् । भविष्यका कर्णधार मानिएका युवाहरू आम नेपालीको मुहारमा खुशी ल्याउने सपनासहित आमाको काख रित्तो बनाएर अस्ताउनु परेको यस घटनाले मुलुक शोकाकुल बनेको छ ।
उक्त आन्दोलनका क्रममा बझाङका दुई जना युवाले पनि सहादत प्राप्त गरेका छन् । सहिद बनेका खप्तड छान्नाका सुबास बोहरा र दुर्गाथली गाउँपालिकाका भिम धामीका परिवारप्रति संवेदना व्यक्त गर्दै नेपाल पत्रकार महासंघ बझाङले दुवै परिवारलाई नगद १०-१० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
पत्रकार महासंघ बझाङका अध्यक्ष डि.वि. विष्टले शोकको यस घडीमा परिवारजनलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले पिडित परिवारलाई सहयोग पुर्याउने कार्यमा सबै महानुभावहरूलाई आफ्नो तर्फबाट हातेमालो गर्न अपिल गरेका छन् ।