बझाङमा लागू औषध प्रकरण : डाक्टर र स्ववियु सभापति पक्राउ

बझाङ : ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित भदौ ६ गते पक्राउ परेका विशाल रावल प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा जिल्लाका दुई चर्चित व्यक्तित्व समेत पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरू जिल्ला अस्पताल बझाङका डाक्टर मिलनराज जोशी र जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सभापति बोहरालाई भदौ ३१ गते पक्राउ गरिएको हो । सोही प्रकरणमा संलग्न रहेको भन्दै डाक्टर जोशीलाई असोज ७ गते मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले दुवैजनामाथि थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिएका छन् ।

बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

Loading...