चरेसपछि ब्राउनसुगर : बझाङमा नयाँ लागूऔषधको आतंक

पाँच वर्षमा ठूलो परिमाण बरामद

बझाङ : जिल्लामा पछिल्ला वर्षहरूमा लागू औषध प्रयोग गर्नेहरूको संख्या तीव्र गतिमा बढ्दै गएको छ । विशेषगरी युवा र किशोर–किशोरी लागू औषधतर्फ आकर्षित भइरहेका छन् । उनीहरू साथी संगत, बेरोजगारी, तनाव र सजिलो पहुँचका कारण खतरनाक पदार्थको लतमा फस्दै गएको प्रहरीले जनाएको छ । यसले गर्दा अभिभावकहरू चिन्तित बनेका छन् भने समाजमा अपराध पनि बढ्ने जोखिम उत्तिकै उच्च भएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङले उपलब्ध गराएको तथ्यांक अनुसार आ.व. २०७८/०७९ देखि २०८२/०८३ सम्मको पाँच वर्षको अवधिमा प्रहरीले विभिन्न समयमा गरी १७९ केजी ३६८ ग्राम ६३१ मिलिग्राम चरेस बरामद गरेको छ । सोही अवधिमा कठोर लागू औषध खैरो हेरोइन (ब्राउनसुगर) समेत ४५५ मिलिग्राम नियन्त्रणमा लिइएको छ । यसबाहेक प्रहरीले ११ क्याप्सुल ट्रामाडोल र १० क्याप्सुल ओपिडल समेत बरामद गरेको तथ्यांकमा उल्लेख छ । उक्त अवधिमा कुल २९ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खैरो हेरोइन : खतरनाक लागू औषध

विशेषगरी ब्राउनसुगर वा खैरो हेरोइन युवामाझ फैलिनु अत्यन्त खतरनाक पक्ष हो । हेरोइनकै मिलावट गरिएको यो पदार्थ प्रायः खैरो वा गहुँजस्तो रंगको पाउडर स्वरूपमा पाइन्छ । यसलाई धुम्रपान गर्ने, नाकमार्फत सुँघ्ने वा इन्जेक्सनमार्फत प्रयोग गर्ने गरिन्छ । प्रारम्भमा यसले केही समयका लागि आनन्द र नशाको अनुभूति दिलाए पनि दीर्घकालमा यसले मस्तिष्क, मुटु, कलेजोलगायत महत्वपूर्ण अंगलाई क्षति पुर्‍याउने मात्र होइन, ज्यानै जाने खतरा पनि निम्त्याउन सक्छ । संक्रमित सुइँ प्रयोग गर्दा एड्स वा हेपाटाइटिस जस्ता रोग फैलिने सम्भावना झनै उच्च हुन्छ ।

नेपाल प्रहरीले ब्राउनसुगरलाई कठोर लागू औषधको श्रेणीमा राखेको छ । लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार सानो मात्रामा प्रयोग या कारोबार गरे पनि कानूनी सजाय हुने प्रावधान छ । दुई ग्रामसम्म भेटिए एक वर्षसम्म कैद वा जरिवानाको सजाय हुन्छ भने सोभन्दा बढी परिमाण बरामद भए कैदको अवधि र जरिवाना क्रमशः बढ्दै जान्छ । ठूलो परिमाणमा बरामद भएमा १० देखि १५ वर्षसम्म कैद र उच्च जरिवानाको सजाय हुने व्यवस्था छ । अझ ठूलो मात्रामा अन्तर्राष्ट्रिय कारोबारमा संलग्न भए २० वर्षदेखि जन्मकैदसम्मको सजायको समेत प्रावधान छ ।

यसरी युवामा लागू औषध प्रयोग बढ्दै जाँदा त्यसको असर शिक्षादेखि समाजसम्म परेको छ । धेरै युवा विद्यालय छाड्ने, पढाइमा ध्यान नदिने वा आक्रामक व्यवहार देखाउने गरेका छन् । परिवारमा समेत आर्थिक समस्या र आपसी सम्बन्धमा दरार आउने गरेको छ । चोरी, ठगी, हिंसात्मक गतिविधि र झगडाजस्ता अपराध बढ्न थालेका घटनाले समाज नै असुरक्षित बन्दै गएको छ ।

प्रहरी स्रोतका अनुसार सीमावर्ती क्षेत्र र गुप्त नेटवर्कमार्फत ब्राउनसुगरजस्ता पदार्थ बझाङ भित्रिने भएकाले नियमित निगरानी, खोजतलासी र समुदायको सहकार्य अपरिहार्य छ ।

पुनर्स्थापना र सचेतना अपरिहार्य

विशेषज्ञहरूले लागू औषध नियन्त्रण कानूनी कारबाहीबाट सम्भव नहुने बताएका छन् । उनीहरूको भनाइमा, पुनर्स्थापना, सचेतना कार्यक्रम, युवा मित्र गतिविधि र अभिभावक, विद्यालयबीचको सहकार्यलाई सशक्त बनाउन सके मात्र दीर्घकालीन रूपमा समस्या समाधान गर्न सकिन्छ । खेलकुद, सांस्कृतिक कार्यक्रम र सिपमूलक तालिममार्फत युवालाई सकारात्मक दिशातर्फ आकर्षित गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

बझाङमा पहिलो पटक समातियो खैरो हेरोइन

बझाङमा यसअघि लागू औषध चरेस वा गाँजा प्रकरण बढी देखिएकोमा पछिल्लो पहिलो पटक खैरो हेरोइन बरामद हुनु जिल्लाका लागि चिन्ताजनक भएको प्रहरीले जनाएको छ । खैरो हेरोइनजस्तो खतरनाक पदार्थ पहिले जिल्लाभित्रै भेटिएको तथ्यांक नभएको तर हालै नियन्त्रणमा परेपछि यसले समस्या अझ गम्भीर बन्दै गएको सन्देश दिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार यो घटना जिल्लामा लागू औषधको स्वरूप बदलिँदै गएको संकेत हो, जसलाई तत्काल नियन्त्रण नगरे यसले ठूलो सामाजिक संकट निम्त्याउनेछ ।

डाक्टर र स्ववियु सभापति पक्राउ

बझाङमा खैरो हेरोइन सहित विशाल रावल भदौ ६ गते पक्राउ परेका थिए । सोही प्रकरणमा अनुसन्धान गर्दै जाँदा जिल्लाका दुई चर्चित व्यक्तित्व समेत पक्राउ परेका छन् । पक्राउ परेकाहरूमा जिल्ला अस्पताल बझाङका डाक्टर मिलनराज जोशी र जयपृथ्वी बहुमुखी क्याम्पसका स्ववियु सभापति तिलकचन्द्र बोहरा रहेका छन् ।

प्रहरीका अनुसार जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर सभापति बोहरालाई भदौ ३१ गते पक्राउ गरिएको हो । सोही प्रकरणमा संलग्न रहेको भन्दै डाक्टर जोशीलाई असोज ७ गते मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले दुवैजनामाथि थप अनुसन्धान भइरहेको र घटनाबारे विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने जानकारी दिएका छन् । बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अनुसार कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

Loading...