चैनपुर बजारमा युवाहरूबीच झडप, तीन जना प्रहरी नियन्त्रणमा

बझाङ : बझाङको सदरमुकाम चैनपुर बजारमा बिहीबार बेलुका ६ बजे जिम हल नजिकै दुई समूहबीच झडप भएको छ । यस घटनामा दुई जना घाइते भएका छन् ।

घटनामा सुर्मा गाउँपालिका–१ का १८ वर्षीय रमिल बोहरा, १९ वर्षीय अनिल बोहरा, छबिस पाथिभेरा गाउँपालिका–७ का १८ वर्षीय किरण धामी र जयपृथ्वी नगरपालिका–३ का प्रवेश बिष्ट संलग्न रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार झडपमा छबिस पाथिभेरा गाउँपालिका–७ का किरण धामीको टाउकोमा चोट लागेर बेहोस अवस्था छ भने प्रवेश बिष्ट सामान्य घाइते भएका छन् । घाइते धामीलाई उपचारका लागि जिल्ला अस्पतालबाट डडेलधुरा लगिएको छ भने बिष्टलाई उपचारपछि घर फर्काइएको छ ।

प्रहरीले झडपमा संलग्न रमिल बोहरा, अनिल बोहरा र अर्का एकजनालाई नियन्त्रणमा लिएको छ । अझै केही व्यक्ति फरार रहेका छन् र खोजी कार्य जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले घटनाको कारण जिप र साइकल ठोकिँदा उत्पन्न विवाद रहेको बताएका छन् ।

Loading...