बझाङ : दुर्गाथली गाउँपालिका–०५ जाफ्रीमा स्थानीय युवाहरूको पहलमा खेलमैदान निर्माण हुने भएको छ । जाफ्रीको जनचेतना युवा समाजले बिहिवार गाउँपालिका अध्यक्ष दिलबहादुर थापा समक्ष खेलमैदान निर्माणका लागि जग्गाधनीहरूको माइनेटसहित ज्ञापनपत्र बुझाएको हो ।
जनचेतना युवा समाजका अनुसार जाफ्री क्षेत्रमा खेलकुदका लागि कुनै व्यवस्थित मैदान नहुँदा युवाहरूले अभ्यास र प्रतियोगिता सञ्चालन गर्न कठिनाइ हुँदै आएको थियो । यसै समस्यालाई मध्यनजर गर्दै युवाहरूले सामूहिक रूपमा मैदान निर्माणको पहल गरेका हुन् ।
ज्ञापनपत्र बुझ्ने क्रममा गाउँपालिका अध्यक्ष थापाले खेलमैदान निर्माणलाई गाउँपालिकाको प्राथमिकतामा राख्दै तत्काल प्राविधिक अध्ययन र इस्टिमेट तयार गर्ने प्रतिबद्धता जनाएका छन् । “भोलि नै प्राविधिक टोली पठाएर स्थल निरीक्षण गरिनेछ, त्यसपछि तुरुन्तै जेसिवी लगाएर मैदान निर्माण सुरु गरिनेछ,” अध्यक्ष थापाले भने ।

स्थानीय युवाहरूले मैदान निर्माणपछि गाउँमा खेलकुदको वातावरण विकास हुने, प्रतिभा निखार्न अवसर मिल्ने र सामाजिक एकता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । जाफ्रीका स्थानीयवासीले गाउँमा पहिलो पटक व्यवस्थित खेलमैदान बन्न लागेकाले खुशी व्यक्त गरेका छन् । गाउँका युवाहरूका अनुसार मैदान निर्माण सम्पन्न भएपछि गाउँस्तरका क्रीकेट, फुटबल, भलिबल र अन्य प्रतियोगिता नियमित रूपमा आयोजना गरिने योजना छ ।
