बझाङमा चर्चा पाउँदै अर्गानिक कमेडी ‘हाँसोको डोज’

Masta Gaupalika

बझाङ: बझाङी भाषामा निर्माण गरिएको पहिलो टेलिसिरियल ‘हाँसोको डोज’ अहिले स्थानीय क्षेत्रमा मात्र होइन, देश – विदेशमा रहेका बझाङबासी युवामाझ पनि निकै लोकप्रिय बन्दै गएको छ । स्थानीय सामाजिक चरित्र, व्यवहार र दैनन्दिन जीवनका कथालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको यो सिरियलले दर्शकमा हाँसो र मनोरञ्जनको नयाँ अनुभव दिएको छ ।

‘हाँसोको डोज’ को पहिलो श्रृङ्खला असोज महिनाबाट सार्वजनिक गरिएको थियो । अहिले सम्म १० औँ श्रृङ्खला तयार भइसकेको निर्माण पक्षले जनाएको छ । तलकोट क्षेत्रका कलात्मक रुचि भएका युवाहरूको पहलमा सुरु गरिएको टेलिसिरियलले बझाङी भाषा र संस्कृतिलाई डिजिटल माध्यममार्फत व्यापकता दिलाउन मद्दत गरेको छ ।

कलाकारहरू वीर बिकल धामी, चक्रप्रसाद जोसी (सिपि), शमसेर राणा (बिधौरो), सचिन सार्की (कोदाले डन), कलक ठकुरीसहित टिममा गोरख घर्ती निर्देशक र कथा निर्देशनमा सिपि जोसी वीर बिकल धामी रहेका छन् । उनीहरूको सामूहिक प्रयासले स्थानीय प्रतिभा र भाषालाई प्रोत्साहन गरेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

कलाकार वीर बिकल धामीका अनुसार, दुर्गम भौगोलिक चुनौती र पूर्वाधारको कमीका बावजुद पनि टिम निरन्तर रुपमा सिर्जनामा लागिरहेको छ । “थुप्रै कठिनाइहरू हुदाहुदै पनि हामी लागि रहेका छौँ । कहिले बत्ती हुँदैन, कहिले भिडियो अपलोड गर्ने नेट हुँदैन । तैपनि हामी निरन्तर प्रयासरत छौँ,” धामीले बताए ।

स्थानीय कथा, स्थानीय भाषा र स्थानीय पात्रहरूलाई समेटेर हास्य शैलीमा प्रस्तुत गरिएको ‘हाँसोको डोज’ ले बझाङी युवाहरूको सिर्जनशीलता र आफ्नै भाषा, संस्कृतिप्रतिको प्रेमलाई उजागर गरिदिएको छ । बझाङी भाषामा नाटक हेर्न पाउने अवसर बढेपछि विदेशमा रहेका बझाङबासीहरू समेत यो टेलिसिरियलसँग भावनात्मक रूपमा जोडिएको देखिन्छ ।

Loading...