दुई करोडको लगानिमा धम्पुसमा खुल्यो “होटेल धम्पुस बेस्ट भ्यू”

Masta Gaupalika

पोखरा: कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ धम्पुस  गुरुङ संस्कृतिले भरिपूर्ण, प्राकृतिक सौन्दर्यले धनी छ । यो ऐतिहासिक गाउँ विगतदेखी नै पर्यटकिय केन्द्र बनेको छ । यही धम्पुसको सबैभन्दा अग्लो टाकुरामा अब पर्यटकका लागि नयाँ आकर्षण थपिएको छ- होटेल धम्पुस बेस्ट भ्यु ।

होटेल परिसरबाट देखिएको अन्नपूर्ण रेन्ज

दुई करोड दश लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यो होटेल मंसिर २० गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । धम्पुसको मुख्य पुरानो गुरुङ गाउँ पोखरी जस्तो प्राइम क्षेत्रमा अवस्थित यो होटेलले धम्पुसको पर्यटनमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

होटेलको प्रमुख विशेषता यसको लोकेसन हो । यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाका सबै प्रमुख हिमाल आँखै अगाडि देखिन्छन् । कास्की जिल्लामा रहेका अन्नपूर्ण नर्थ, अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे र मर्दी हिमाल स्पष्ट देखिन्छन् भने मुस्ताङ र म्याग्दी जिल्लामा रहेको धौलागिरी हिमालसमेत अवलोकन गर्न सकिन्छ । बिहान हिमालमा पर्ने सुनौलो सूर्यकिरण र साँझ पर्नासाथ पोखराका झिलिमिली बत्तीहरूले यहाँको दृश्य झन् अविस्मरणीय बनाउँछन् ।

होटेलबाट देखिएको धम्पुस गाउँ र माछापुच्छ्रे

होटेलमा १२ वटा सुविधासम्पन्न कोठा, रेस्टुरेन्ट र बार रहेका छन् । अत्याधुनिक बत्ती, आकर्षक सजावट र कलात्मक लाइटिङले होटेलको सुन्दरता थप बढाएको छ । धम्पुसकै सबैभन्दा अग्लो टाकुरामा रहेकाले यहाँबाट पुरानो गुरुङ गाउँ प्रस्ट देखिन्छ । होटेलको डिलमुनि रहेका गुरुङ घरहरूले धम्पुसको मौलिक पहिचान झल्काउँछन् ।

करिब ६ रोपनी क्षेत्रफलमा बनेको होटेलमा पर्याप्त पार्किङ सुविधा छ । पर्यटकलाई थप आकर्षण दिन पिङको व्यवस्थापनसमेत गरिएको छ । साँझपख क्याम्प फायरको न्यानो रौनक र गुरुङ संस्कृतिसँग जोडिएको रोधी कार्यक्रमले यहाँको बसाइलाई झन् यादगार बनाउँछ ।

 

होटेलका सञ्चालक अमर गुरुङका अनुसार,
“धम्पुसको सौन्दर्य अवलोकनका लागि योभन्दा उपयुक्त ठाउँ अरू छैन । यही कारण यो मेरो ड्रीम प्रोजेक्ट हो । यस ठाउँबाट धम्पुस गाउँको सुन्दरता, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको भव्यता र पोखराको चमक एउटै प्याकेजमा देखिन्छ ।”

उनका अनुसार यो होटेल केवल व्यवसायिक उद्देश्यका लागि मात्र नभई धम्पुसको पर्यटन प्रवर्द्धनका लागि सञ्चालन गरिएको बहुआयामिक प्रोजेक्ट हो । हालसम्म २ करोड १० लाख रुपैयाँ लगानी भइसकेको र पूर्वाधार, कटेज निर्माण, लाइटिङ र डेकोरेशनमा विशेष मिहिनेत गरिएको उनले बताए ।

 

धम्पुसकै नयाँ चौतारीमा होटेल प्याराडाइज सञ्चालन गरिरहेका अमर गुरुङ र व्यवसायी बेलचन्द्र गुरुङ (कुमार)को संयुक्त लगानीमा धम्पुस बेस्ट भ्यु सञ्चालनमा आएको हो ।

धम्पुसको पर्यटन प्रवर्द्धनमा यो होटेलले नयाँ उत्साह जगाएको माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष बैकुण्ठ प्रसाद भण्डारीले बताए । उनले भने, धम्पुसको पुरानो गुरुङ गाउँ पोखरी जस्तो प्राइम क्षेत्रमा होटेल सञ्चालन हुनु पर्यटकीय हिसाबले अत्यन्तै आशालाग्दो विषय हो ।
धम्पुसमा माउन्टेन लज, होटेल नाना, कन्ट्री लज जस्ता अत्याधुनिक सुविधासम्पन्न होटेलहरू सञ्चालनमा आउनु निकै खुसीको विषय भएको वडाध्यक्ष भण्डारीले बताए ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक पहिचान र आधुनिक सुविधाको सुन्दर संगम बनेको धम्पुस बेस्ट भ्यु होटेल अब धम्पुस आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्य बन्दै गएको छ ।
हिमालसँग आँखा जुधाएर, गाउँको न्यानोपन महसुस गर्दै र पोखराको चमक नियाल्न चाहनेहरूका लागि — धम्पुस बेस्ट भ्यु साँच्चिकै नामजस्तै बेस्ट भ्यु बनेको छ ।

Loading...