
कैलाली: आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले कैलालीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र–४ बाट जयबहादुर धामीलाई उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
जयबहादुर धामी कैलालीको गोदावरी नगरपालिका वडा नं ४ का स्थायी बासिन्दा हुन् । उनी राजनीतिक रूपमा लामो समयदेखि सक्रिय रहेका छन् र युवापुस्तामा लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
धामीले आफ्नो राजनीतिक जीवन २०५६ सालदेखि विद्यार्थी राजनीति मार्फत सुरु गरेका हुन् । राप्रपामा प्रवेश गर्नु अघि उनी नेपाल नागरिक अभियानमा केन्द्रीय प्रशिक्षक र सुदूरपश्चिम संयोजकको जिम्मेवारी सम्हालिसकेका थिए । यस क्रममा उनले समुदाय स्तरमा जनसहभागिता र स्थानीय राजनीतिमा युवाहरूलाई संगठित गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि राप्रपाबाट उम्मेदवार भएका थिए । यसअघि पनि उनी निर्वाचनमा प्रतिस्पर्धी भएका कारण क्षेत्रीय राजनीतिमा राम्रो परिचय र अनुभव भएका नेता हुन् । हाल उनी राप्रपाको सुदूरपश्चिम प्रदेश प्रशिक्षकको रूपमा सक्रिय छन् र पार्टीको संगठन बलियो बनाउने कार्यमा लागेका छन् ।
जयबहादुर धामी बझाङको पुर्ख्यौली घर भएका हुन् । उनी आफ्ना युवावस्थादेखि नै झुझारु र मेहनती युवा नेताको रूपमा परिचित छन् । उनका समर्थकहरूले उनलाई जनसम्पर्क र संगठन निर्माणमा सधैं अग्रणी रहने व्यक्ति मान्दछन् ।
धामीले स्थानीय विकास, शिक्षा, स्वास्थ्य सेवा, रोजगार सृजना र युवा सशक्तीकरणमा विशेष ध्यान दिने प्रतिवद्वता जनाएका छन् । साथै उनी पार्टीको मूल उद्देश्यअनुसार प्रजातन्त्र, राष्ट्रिय एकता र नेपालवादको आवश्यकता महसुस गर्दै अघि बढ्ने बताएका छन् ।