धम्पुस: २५ डिसेम्बर अर्थात् क्रीसमस डे । येशु ख्रीष्टको जन्मदिन । संसारभरका ख्रीष्टियन समुदायले यो दिनलाई उल्लासपूर्ण पर्वका रूपमा मनाउँछन् । यही अवसरमा क्रीसमस मनाउन एक दर्जनभन्दा बढी युवा–युवती विभिन्न स्थानबाट कास्कीको पर्यटकीय गाउँ धम्पुस उक्लिएका थिए ।
पुसको चिसो साँझ करिब ७ बजेको समय थियो । धम्पुसस्थित इको भिलेज रिसोर्टको आँगन युवायुवतीको हाँसो, गीत र उत्साहले गुञ्जायमान बनेको थियो । समूहकै एकजना युवाले सान्ता क्लजको भेष धारण गरेका थिए । सबैजना सान्ता क्लज वरिपरि झुम्मिए । सान्ताले एक–एक गरेर सबैको नाम बोलाउँदै उपहार बाँडे । पुसको चिसो मौसममा पनि माहोल निकै न्यानो बनेको थियो ।
करिब ८ बजेतिर गुरुङ सांस्कृतिक पोशाकमा सजिएको अर्को टोली इको भिलेजको आँगनमा प्रवेश गर्यो । टोलीमा १४ जना महिला र ३ जना पुरुष थिए । उनीहरू ‘न्हेगो बराह आमा समूह’को सांस्कृतिक टोली रहेछन् । समूहकी सचिव डमरकुमारी गुरुङका अनुसार न्हेगो बराह आमा समूह दुई दशकदेखि निरन्तर रूपमा सांस्कृतिक कार्यक्रममा सक्रिय रहँदै आएको छ ।
टोलीका महिलाहरू गुरुङ समुदायको मौलिक सांस्कृतिक पोशाकमा सजिएका थिए । टाउकोमा क्रमु (पछ्यौरा), भिरु माला, चोलो, घलेक, पटुकी, टिकिस र गुनियुमा उनीहरू आकर्षक देखिन्थे । पुरुषहरू भने ढाका टोपी, भाङ्ग्रा, दौरा र परम्परागत पोशाकमा सजिएका थिए । यी सबै पोशाकले गुरुङ समुदायको पहिचान झल्काइरहेका थिए ।
यो पोशाक गुरुङ समुदायले ल्होसार, विवाह, छेवर, बुद्ध जयन्ती, ट्रोहोटे पर्व तथा विभिन्न स्वागत समारोहमा लगाउने परम्परा छ । देश–विदेशमा रहेका गुरुङ समुदायले आज पनि यसलाई निरन्तरता दिँदै आएका छन् ।

आमा समूहका सल्लाहकार देउकाजी गुरुङका अनुसार न्हेगो बराह आमा समूह स्थापना भएदेखि नै उनी नेतृत्वदायी भूमिकामा छन् । उनी मादल बजाउँछन्, नाच्छन् र सांस्कृतिक कार्यक्रमलाई जीवन्त बनाउँछन् । पछिल्लो समय उनलाई स्थानीय कृष्ण गुरुङले साथ दिँदै आएका छन् ।
मादलको तालसँगै आमा समूहले मौलिक लोकगीत गुञ्जायो –
“स्वागत छ सबैलाई आमा टोलीको” ।
गीतसँगै दुई जना नृत्यमा मग्न भए । आमा समूहको नृत्यमा रिसोर्टमा आएका अन्य पाहुनासमेत मिसिए । पुसको जाडो साँझ झन् रमाइलो बन्यो । लगत्तै “आउनु भयो, बनेर अतिथि” बोलको गीत गुञ्जियो । क्रीसमस मनाउन आएका युवायुवतीले पनि कम्मर मर्काउँदै सांस्कृतिक प्रस्तुतिमा साथ दिए ।

विगतदेखि नै न्हेगो बराह आमा समूहले धम्पुसमा आयोजना हुने विभिन्न मेला, पर्व तथा सांस्कृतिक कार्यक्रमहरूमा आफ्नो मौलिक पहिचान प्रदर्शन गर्दै आएको छ । गुरुङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आएका उनीहरूले स्थानीय समुदायलाई एकताबद्ध गर्नुका साथै नयाँ पुस्तालाई संस्कृतिप्रति आकर्षित गरिरहेका छन् ।
आमा समूहका सल्लाहकार देउकाजी गुरुङका अनुसार आमा समूहको सांस्कृतिक प्रस्तुतिले आगन्तुक पाहुनालाई मनोरञ्जन दिनुका साथै धम्पुसका होटल, गेस्ट हाउस तथा पर्यटन व्यवसायमा समेत सकारात्मक सहयोग पुगेको छ ।
आमा समूहकी सदस्य तथा युनिक गेस्ट हाउसकी सञ्चालक ज्योती गुरुङ भन्छिन्, “यस्ता सांस्कृतिक कार्यक्रमले धम्पुस आउने पाहुनालाई फरक अनुभूति दिन्छ । पाहुनाले यहाँको संस्कृति नजिकबाट बुझ्न पाउँछन्, जसले गाउँ पर्यटनलाई अझ बलियो बनाएको छ ।”
क्रीसमसको उत्सवसँगै गुरुङ संस्कृतिको मौलिक प्रस्तुति — धम्पुसको त्यो साँझ केवल पर्वको उत्सव मात्र थिएन, संस्कृति, पर्यटन र समुदायको आत्मीय मिलनको सुन्दर उदाहरण बनेको थियो ।