दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिकामा दिगो पर्यटन परियोजना अन्तर्गत सञ्चालन गरिएको फन्डामेन्टल रोप एन्ड रेस्क्यु ट्रेनिङ (आधारभूत डोरी तथा उद्धार तालिम ) सफलतापूर्वक सम्पन्न भएको छ । जोखिमयुक्त भूभाग, भिरालो पहाड तथा आपतकालीन उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई डोरी प्रयोग गरी उद्धार गर्ने आधारभूत सीप, चट्टानी भिरमा सुरक्षित आवतजावत, आपतकालीन अवस्थामा घाइतेको उद्धार विधि, सुरक्षा उपकरणको सही प्रयोगलगायतका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । विशेषगरी अपिहिमाल जस्तो भौगोलिक रूपमा कठिन क्षेत्रका लागि यस्ता सीप अत्यन्त आवश्यक हुने प्रशिक्षकहरूले बताएका छन् ।

तालिम समापन कार्यक्रममा बोल्दै अपि हिमाल गाउँपालिका अध्यक्ष भगतसिंह ठेकरे बोहराले विपद् जोखिम न्यूनीकरण तथा आकस्मिक उद्धार क्षमताको विकासमा तालिमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । स्थानीय युवा तथा सरोकारवालाहरूको सक्रिय सहभागिताले भविष्यमा खोज तथा उद्धार कार्य अझ प्रभावकारी हुने उनले बताए ।
यस्तै, अपिहिमाल गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले भौगोलिक रूपमा जोखिमयुक्त क्षेत्रमा यस्ता तालिम अत्यन्त आवश्यक रहेको बताइन् । उनले भनिन्, “अपिहिमाल जस्तो भिरालो र दुर्गम क्षेत्रमा विपद् तथा आपतकालीन अवस्थाको सामना गर्न स्थानीय स्तरमै उद्धार सीप विकास गर्नु जरुरी छ । यस तालिमले समुदायको उद्धार क्षमता बढाउनेछ ।”

समापनसँगै सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई वास्तविक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अपिहिमाल गाउँपालिकाले आगामी दिनमा पनि यस्ता क्षमताविकासमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ ।
