काठमाडौँ — नेपालको राष्ट्रिय पहिचान , सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै स्थापना हुन गइरहेको राष्ट्रिय एकता दल ले आफ्नो औपचारिक घोषणा सभा आगामी २०८२ साल पुस २५ गते शुक्रबार काठमाडौँमा आयोजना गर्ने भएको छ ।
दलले जारी गरेको जानकारीअनुसार राजनीति केवल सत्ताको अभ्यास मात्र नभई राष्ट्रको इतिहास , संस्कृति र भविष्यप्रतिको गम्भीर उत्तरदायित्व हो भन्ने मान्यताका साथ राष्ट्रिय एकता दलको स्थापना गरिएको हो । संघीय हिन्दु गणतन्त्रको अवधारणा , नेपाली मौलिक धर्म–संस्कृति तथा सभ्यताको संरक्षण , र राष्ट्रिय एकताको सुदृढीकरणलाई दलको मूल ध्येयका रूपमा अघि सारिएको छ ।
दलका अनुसार यी मूल्यहरू कुनै एक समुदाय वा वर्गको पक्षमा नभई नेपालको ऐतिहासिक निरन्तरता , सामाजिक सन्तुलन र राष्ट्रिय आत्माको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएका विषय हुन् । वर्तमान राजनीतिक , सामाजिक र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै वैकल्पिक राष्ट्रवादी राजनीतिक धार प्रस्तुत गर्ने उद्देश्यसहित दलले औपचारिक घोषणा सभा गर्न लागेको जनाइएको छ ।
लोकतान्त्रिक व्यवस्थामा वैचारिक भिन्नता स्वाभाविक भए पनि राष्ट्रिय हितका साझा प्रश्नहरूमा राजनीतिक दलहरूबीच आपसी सम्मान , संवाद र सहकार्य अपरिहार्य रहेको दलको धारणा छ । यही सन्देश प्रवाह गर्न विभिन्न राजनीतिक दलका नेतृत्व , बुद्धिजीवी , नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको छ ।
राष्ट्रिय एकता दलले उक्त ऐतिहासिक अवसरमा गरिमामय उपस्थिति वा शुभकामनाले राजनीतिक शिष्टाचार , लोकतान्त्रिक परिपक्वता र राष्ट्रिय एकताको सन्देश मजबुत हुने विश्वास व्यक्त गरेको छ । उपस्थित हुन असमर्थ व्यक्तिहरूबाट प्राप्त शुभकामनालाई पनि दलले उत्तिकै प्रेरणादायी र महत्वपूर्ण हुने जनाएको छ ।
नेपाल एङ्गल न्युज एक स्वतन्त्र डिजिटल समाचार माध्यम हो, जसले तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार प्रस्तुत गर्छ ।
- Facebook Comments
- Comments