बझाङका युवा उद्यमी नरेन्द्र खड्का रास्वपामा जोडिए
राजनीति, समाजसेवा र उद्यमशीलताको यात्राबाट वैकल्पिक राजनीतितर्फ

बझाङ — राजनीति, व्यवशाय र समाजसेवाको क्षेत्रमा लामो समयदेखि सक्रिय बझाङका युवा उद्यमी नरेन्द्र बहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जोडिएका छन् । स्थानीय स्तरमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका खड्काको रास्वपामा प्रवेशलाई बझाङको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), तथा स्वतन्त्र सांसद एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. तारा जोशीसँगै खड्का वैकल्पिक राजनीतिमा जोडिएका हुन् ।

नरेन्द्र खड्का बझाङमा पोल्ट्री व्यवसाय भित्र्याउने पहिलो उद्यमीका रूपमा चिनिन्छन् । स्थानीय रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको पक्षमा उनी लामो समयदेखि क्रियाशील रहँदै आएका छन् । हाल उनी बझाङ उद्योग वाणिज्य संघका महासचिव तथा बझाङी सेवा समाज अत्तरिया, कैलालीका सचिवको जिम्मेवारीमा छन् ।
यसअघि उनले जाल्पा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षको रूपमा रहेर पनि उल्लेखनीय योगदान दिएका थिए ।
विद्यार्थी राजनीतिबाट मूलधारसम्म
खड्काको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । २०६३ सालदेखि उनी विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए । तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) को रेन्बो इन्टरनेशनल कलेज संयोजक हुँदै उनले २०६६ सालमा बझाङ जिल्ला समिति सचिवको जिम्मेवारी सम्हालेका थिए ।
त्यसपछि २०६९ सालमा जिल्ला संयोजक, केन्द्रीय सदस्य तथा केन्द्रीय सचिवालय सदस्य हुँदै सुदूरपश्चिम प्रदेश सह–संयोजकको भूमिका निर्वाह गरे । पछि नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्यको जिम्मेवारीसम्म पुग्न सफल भएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका मेयर पदका उम्मेदवार बनेका खड्काले प्रत्यक्ष निर्वाचनमार्फत जनतासँग नजिक भएर राजनीति गर्ने अनुभव पनि सँगालेका छन् ।
२०८० सालदेखि उनी तत्कालीन नेकपा माओवादी केन्द्रबाट निष्क्रिय रहेका थिए ।
“विचारमा कम्युनिस्ट भए पनि व्यवहारमा दलाल पुँजीवादी प्रवृत्तिले राजनीतिलाई ग्रसित बनाएको महसुस भयो,” खड्का भन्छन्, “समयअनुसार परिवर्तन र गतिशीलता अपरिहार्य हुन्छ” ।
यही सोचका साथ उनी वैकल्पिक, पारदर्शी र जवाफदेही राजनीतिलाई प्राथमिकता दिने रास्वपामा समाहित भएको बताउँछन् ।
चुनावी अभियानतर्फ तयारी
रास्वपामा प्रवेशपछि खड्का चुनावी अभियानमा सक्रिय रूपमा जोडिने तयारीमा छन् । विशेषगरी युवाहरूको साथ र समर्थनले आफू थप उत्साहित भएको उनको भनाइ छ ।
“युवाहरूले खोजेको राजनीति आज रास्वपाले प्रतिनिधित्व गरिरहेको छ,” उनी भन्छन्, “अब विचारलाई व्यवहारमा उतार्ने समय आएको छ” ।
नरेन्द्र खड्काको रास्वपामा प्रवेशले बझाङको स्थानीय राजनीति मात्र होइन, सुदूरपश्चिमको वैकल्पिक राजनीतिक बहसलाई समेत नयाँ गति दिने अपेक्षा गरिएको छ ।