बारा– लामो समयदेखि भ्रष्टाचार , कुशासन र राष्ट्रिय हितका मुद्दामा सक्रिय रूपमा संघर्ष गर्दै आएका हिन्दुवादी नेता विनय यादव आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा–४ बाट उम्मेदवारी दिने भएका छन् ।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अभियन्ता समेत रहेका यादवको नेतृत्वमा गठित राष्ट्रिय एकता दल को बारा जिल्ला कमिटीले उनलाई बारा–४ बाट एकल उम्मेदवारका रूपमा औपचारिक सिफारिस गरेको छ । आफ्नो गृह क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लागेका यादवले जनताको पक्षमा वैकल्पिक , राष्ट्रवादी र मूल्यआधारित राजनीतिलाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यादव लामो समयदेखि भ्रष्टाचार , कुशासन तथा राष्ट्रिय सम्पत्तिको दुरुपयोग विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छन् । उनले नेपालमा चिनियाँ बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) का नाममा हुने अपारदर्शी सम्झौता र सम्भावित राष्ट्रिय जोखिमप्रति ध्यानाकर्षण गराउँदै विभिन्न चरणमा प्रदर्शन तथा जनजागरण अभियान सञ्चालन गर्दै आएका छन् ।
त्यसैगरी , पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको व्यापक भ्रष्टाचार विरुद्ध सञ्चालन भइरहेको आन्दोलनको अगुवाइ पनि विनय यादवले नै गर्दै आएका छन् । उक्त आन्दोलनमार्फत उनले भ्रष्टाचारमा संलग्न दोषीहरूमाथि निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै आएका छन् ।
हिन्दू सभ्यता , राष्ट्रिय पहिचान , सामाजिक एकता र स्वाधीनताको पक्षमा स्पष्ट र दृढ धारणा राख्दै आएका यादवको उम्मेदवारीले बारा–४ को राजनीतिक समीकरणमा नयाँ बहस र उत्साह सिर्जना गर्ने अपेक्षा गरिएको छ ।