बझाङ चैनपुरमा सिरक उद्योगमा आगलागी, करिब एक करोडको क्षति

बझाङ : जिल्लाको सदरमुकाम चैनपुरमा रहेको एक पसलमा आगलागी भएको छ । शुक्रबार बिहान करिब १० बजे चैनपुरस्थित देबिथान मन्दिर नजिकै रहेको सुर्मा देवी सिरक डसना उद्योगमा आगलागी भएको हो ।

प्रारम्भिक जानकारी अनुसार पसलमा विद्युत् तार सट भएर आगलागी भएको बताइएको छ । आगलागीका कारण पसल पूर्ण रूपमा जलेर नष्ट भएको छ । पसलभित्र रहेका मेसिन, सिरक, लुगाकपडा तथा अन्य सामग्रीहरू सबै जलेर नष्ट भएका छन् ।
करिब आधा घन्टासम्म आगो दन्किएको थियो । आगो नियन्त्रणका लागि स्थानीय, नेपाली सेना तथा प्रहरीले लामो समयको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।

आगो नियन्त्रणका लागि जयपृथ्वी नगरपालिकाको दमकल ढिलो आइपुगेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।आगलागीबाट करिब एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...