बझाङ : केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले पालिकाभित्रका १३ वटै विद्यालयमा खेलमैदान निर्माण गरिने बताएका छन् । पालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले विद्यालयस्तरमा खेलकुद पूर्वाधारको अभावका कारण प्रतियोगिता सञ्चालनमा समस्या हुने गरेको गुनासो आएको उल्लेख गर्दै खेलमैदान निर्माण गरिने प्रतिबद्धता जनाए ।
अध्यक्ष बोहराले भने, “विद्यालयले जग्गा खोज्नेछन्, वडाले जग्गा उपलब्ध गराएमा गाउँपालिकाले खेलमैदान निर्माण गर्नेछ ।”
यसैगरी, तेस्रो पटक विजेता बनेको भैरव माध्यमिक विद्यालयलाई प्रोत्साहनस्वरूप ३ लाख ३३ हजार ३ सय रुपैयाँ प्रदान गर्ने निर्णय गाउँपालिकाले गरेको उनले जानकारी दिए ।
अध्यक्ष बोहराले पालिका स्तरीय अन्तरविद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने सबैप्रति धन्यवाद व्यक्त गरे ।