नयाँ रणनीतिसहित चुनावी मैदानमा नेकपा , परिचालन कमाण्ड जोशीलाई

Masta Gaupalika

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन सुदृढीकरण तथा आगामी निर्वाचन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ रणनीति अवलम्बन गर्दै अघि बढेको छ । सोही रणनीतिअनुसार पार्टीले विभिन्न समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ ।
पार्टीका उम्मेदवार मिनबहादुर कुवँरलाई विजयी गराउने उद्देश्यले नेकपाले निर्वाचनमा नयाँ रणनीतिका साथ अघि बढ्दै निर्वाचन परिचालन समिति गठन गरेको हो ।
मूल निर्वाचन परिचालन समितिको संयोजकमा पूर्वमन्त्री भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी क्षेत्र नम्बर १ को निर्वाचन परिचालनको जिम्मेवारी नेकपाका नेता दिलबहादुर सिंहलाई र क्षेत्र नम्बर २ मा नेकपाका नेता तथा पूर्व सांसद शंकर खड्कालाई जिम्मेवारी दिइएको छ ।
यसका साथै पार्टीले आर्थिक व्यवस्थापन समितिको संयोजकमा नेकपाका नेता अक्कल धामी , सूचना प्रविधि (आईटी) तथा प्रचार–प्रसार समितिको संयोजकमा संविधानसभा सदस्य जनक बुढा तथा युवा परिचालन समितिको संयोजकमा युवा नेता भक्त भण्डारीलाई जिम्मेवारी दिएको छ ।
बदलिँदो राजनीतिक परिस्थिति र जनअपेक्षालाई मध्यनजर गर्दै पार्टी संगठनलाई तल्लो तहसम्म सशक्त बनाउने , जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिने तथा पार्टीका गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ उक्त निर्णय गरिएको नेकपाले जनाएको छ ।
पार्टी नेतृत्वले नयाँ रणनीति र समिति पुनर्गठनले संगठनभित्र एकता मजबुत हुनुका साथै आगामी निर्वाचन तथा राजनीतिक चुनौतीहरू सामना गर्न थप बल पुग्ने विश्वास व्यक्त गरेको छ । नेकपाले जनताको हितलाई केन्द्रमा राखेर जिम्मेवार राजनीतिक भूमिका निर्वाह गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।
नेकपाले जनतामाझ बढ्दो समर्थन , संगठनको मजबुती र प्रभावकारी परिचालनका कारण आगामी निर्वाचनमा आफ्नो पक्षमा स्पष्ट जनमत निर्माण भइसकेको दाबी गरेको छ । पार्टी नेतृत्वले नयाँ रणनीति , समितिगत संरचना र कार्यकर्ताको सक्रियताले जित सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ ।

Loading...