छबिस पाथिभेरा–१ मा पातबाट सम्भावनासम्म : दुनाटपरी तालिमले रोजगारीको बाटो खोल्दै

Masta Gaupalika

बझाङ : “सिप सिकौं, रोजगार बनौं, एक घर एक उद्यमी” भन्ने नाराका साथ छबिस पाथिभेरा गाउँपालिका–१ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीयलाई १५ दिने दुना–टपरी सीप विकास तालिम प्रदान गरिएको छ ।

छबिस पाथिभेरा गाउँपालिका उद्यम विकास शाखाको आयोजनामा सञ्चालन गरिएको तालिम पौष २१ गतेदेखि सुरु भई माघ ६ गते सम्पन्न भएको हो । तालिममा एकल महिला तथा पुरुष दलित गरी १५ जनाको सहभागिता रहेको थियो ।

तालिममा सालको पात, मालुको पातलगायत स्थानीय स्रोत साधनको सदुपयोग गर्दै दुना टपरी बनाउने व्यवहारिक सीप प्रदान गरिएको हो । यसले स्थानीय स्तरमै रोजगारी सिर्जना हुनुका साथै आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमका बारेमा बोल्दै वडा नम्बर १ का अध्यक्ष करनजंग बहादुर सिंहले भने,“स्थानीय स्रोत र सीपलाई उपयोग गरेर नागरिकलाई आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य हो । यस्ता तालिमले गरिबी न्यूनीकरणमा टेवा पुर्‍याउनुका साथै ‘एक घर एक उद्यमी’ अवधारणालाई व्यवहारमा उतार्न मद्दत गर्नेछ ।”

गाउँपालिकाले आगामी दिनमा पनि माग र सम्भावनाका आधारमा यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ ।

Loading...