
बझाङ: राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) बझाङ जिल्ला समितिले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक संरचना सुदृढीकरण तथा प्रभावकारी चुनावी परिचालनका लागि व्यापक मोर्चाबन्दी गरेको छ । यसक्रममा जिल्लास्तरमा विभिन्न समिति गठन गर्दै चुनावी कमान्ड औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।
जिल्ला समितिको निर्णयअनुसार निर्वाचन परिचालन तथा मूल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी नरेन्द्र बहादुर खड्कालाई प्रदान गरिएको छ । साथै , प्रदेश सभा ‘क’ निर्वाचन क्षेत्र संयोजकमा अरुण कुमार रोकाया र प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्र संयोजकमा अशोक मल्ल नियुक्त भएका छन् ।
त्यसैगरी , सुरत मल्लको नेतृत्वमा आर्थिक समिति , मिम बी. सिंहको नेतृत्वमा संवाद समिति , सन्तोष जोशीको नेतृत्वमा अपिल तथा वाचा पत्र लेखन समिति तथा विष्णु खड्काको नेतृत्वमा सूचना तथा प्रविधि समिति गठन गरिएको छ ।
यसैबीच , प्रतिनिधि सभा सदस्य उम्मेदवार शैलेश कुमार सिंहको सचिवालय कार्यालय सचिवमा अनिता जप्रेल नियुक्त गरिएको छ ।
पार्टीले गठित सबै समिति तथा जिम्मेवार पदाधिकारीहरूलाई तोकिएको जिम्मेवारी अनुशासनपूर्वक निर्वाह गर्दै पार्टीको नीति , सिद्धान्त र केन्द्रीय निर्देशनअनुसार चुनावी अभियानलाई तीव्रता दिन निर्देशन दिएको जनाएको छ ।